Logo

चाँदी नदीमा पुल निर्माणको काम सुरु



चन्द्रपुर, १३ असार । वर्षौंदेखि अलपत्र रहेको चन्द्रनिगाहपुर र गैँडाटार जोड्ने चाँदी नदीमाथि पुल निर्माणको कामको सुरुआत गरिएको छ । सडक डिभिजन कार्यालय रौतहटले ठेकेदारलाई दबाब दिएपछि लामो समयदेखि रोकिएको पुल बनाउने काम फेरी सुरुआत गरिएको हो ।

पुल बन्ने पर्खाइमा रहेका गैँडाटार क्षेत्रका बासिन्दाले रिले अनशन गरेर दबाब दिएपछि त्यसयता ठेकेदारले काम गर्न सुरु गरेको हो । हाल पुल बनाउने कार्यमा दुई स्थानबाट स्परसँग बालुवा भरेर जोड्ने काम भएको स्थानीय अगुवा गोविन्द तिमलसिनाले बताए । सो पुलको काम आगामी पुस र माघभित्र सम्पन्न हुने आश्वासन ठेकेदारबाट पाएको तिमलसिनाले जनाए ।

साइट इन्जिनियर मदनमोहन सिंहले हालसम्म ७० प्रतिशत कार्य सम्पन्न भएको बताए । उनले पुलसँग जोडिने सडक निर्माणको काम भइरहेको जनाउँदै चाँडोभन्दा चाँडो पुल बनाउन ठेकेदार र कम्पनीलाई दबाब दिइएको बताए ।

रौतहटको चन्द्रपुर नगरपालिका–३ गैँडाटारस्थित चाँदी नदीमा निर्माण गर्न थालिएको सो पुल निर्माण कम्पनीका लापरबाहीका कारण लामो समयसम्म पुल अलपत्र अवस्थामा रहँदै आएको थियो । चन्द्रनिगाहपुरबाट उत्तरतर्फको चुरे क्षेत्रका ग्रामीण बस्ती जाने एकमात्र सो पुल रु २२ करोड ४४ लाखमा बनाउने ठेक्का पप्पु–शिवशङ्कर जेभीले पाएको थियो । रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot