Logo

मुस्लिम अधिकारका लागि संविधान संशोधन अपरिहार्य छ : कांग्रेस सहमहामन्त्री



काठमाडौं, १४ असार । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले मुस्लिम समुदायको हक अधिकारका निम्ति संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् ।
‘नयाँ संविधान बनेपछि राज्यको सबै अंगमा जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व हुने सुनिश्चितता त गरियो । तर मधेस र लुम्बिनीबाहेकका प्रदेशमा मुस्लिम समुदायले समानुपातिक प्रतिनिधित्व पाएको छैन । राष्ट्रिय सभामा समेत प्रतिनिधित्व छैन । मुस्लिम समुदायको राजनीतिक, आर्थिक, सामाजिक अधिकार र प्रतिनिधित्वका लागि संविधानमा संशोधन गर्न आवश्यक छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
सहमहामन्त्री मन्सुरले शासन, प्रशासन र राजनीतिमा वर्षौंदेखि कब्जा जमाएको वर्गले मुस्लिमलगायत थारु, जनजाति र मधेसीलाई अधिकार दिनमा कन्जुस्याइँ गरेको आरोप पनि लगाए । उनले भने, ‘गणतन्त्र आएपछि मुसलमानहरुले धार्मिक पहिचान र राजनीतिक अधिकार पाए । इद र बकर इदमा राष्ट्रिय बिदा दिइएको छ । तर राजनीतिक पार्टीहरुले आवश्यक जिम्मेवारी वहन गरेका छैनन् ।’ साथै उनले जनसंख्याका आधारमा मुस्लिमको प्रतिनिधित्व गराउनमा अरु पार्टीभन्दा नेपाली कांग्रेस प्रगतिशील रहेको दाबी पनि गरे ।
नेता मन्सुरले परेको मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद) को उपलक्ष्यमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरुलाई शुभकामना पनि दिए । अल्लाहका लागि सबभन्दा प्यारो आफ्नै छोरालाई बलिदान गर्न खोज्दा अल्लाहले पशुलाई बलि चढाउन लगाएको दिनलाई बकर इद मान्ने गरिएको मन्सुरले बताए । सरकारले बकर इदका अवसरमा आज राष्ट्रिय बिदा दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot