काभ्रे, असार १५। जिल्ला अदालतले गरेको फैसला उच्चले र उच्चले गरेको फैसला सर्वोच्चले समेत उल्ट्याउन वा सदर गर्न सक्ने अवस्था रहँदै जिल्ला अदालत काभ्रेपलाञ्चोकले गरेको एउटा फैसलाको पूर्ण पाठसमेत तयार नभई फैसला कार्यान्वयन भएको छ ।
‘मुद्दाको अन्तिम किनारा नलाग्दासम्म वा अन्तिम तहको अदालतबाट फैसला नभई कार्यान्वयन गर्नु हुँदैन’–एक कानुन व्यवसायीले भने,–‘फैसला भएको दशौं वर्षसम्म कार्यान्वयन नभएका मुद्दाहरूको बीचमा अदालतले गरेको फैसलाको पूर्ण पाठसमेत नआउँदै फैसला कार्यान्वयन गर्नु कानुन र न्यायविपरीत हो ।’ जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०८० जेष्ठ ४ गते रोसी गाउँपालिकास्थित धावा तामाङ प्रतिवादी आइते सिं तामाङ भएको करार बदर गरी हक कायम गरी पाउँ भन्ने मुद्दामा बादी दाबीबमोजिमको करारको रित नपुगी कानुनी मान्यता नै नभएको हुँदा बदर हुने फैसला गरेको थियो ।
मागबमोजिमको जग्गामा हक स्थापित भइसकेको हुँदा पुनः कायम हुने भएन भन्ने ब्यहोरा धावा तामाङ र आइते सिं थिङ्गलाई श्रेस्तेदार उपसचिव गोविन्द घिमिरेले २०८० जेष्ठ १६ गते निवेदकको मागबमोजिम फैसलाको जानकारी गराएका थिए । सोही पत्रका आधारमा निवेदकद्वय तामाङ र थिङ्गले जेष्ठ २१ गते रोसी गाउँपालिकामा रकम उपलब्ध गराउन माग गरेको निवेदन दर्ता भएको छ ।
रोसी गाउँपालिकाको ग (३) धरौटी खातानम्बर ०३६१५०३१७२१ मा २०७९ साउन ८ गते आर्यन खतिवडाको नामबाट जयन्तीमैंया खड्गीले १ करोड १ लाख १ हजार रुपैया जम्मा गरेका थिए। रोसी गाउँपालिका वडानम्बर ५ स्थित आइते सिं थिङ्ग र पूर्ण सिं तामाङको संयुक्त नाममा कित्तानम्बर ०२ मा रहेको बुद्धचित्तको फलदाना बिक्री वितरण गर्नका लागि २०७९ असार २२ गते वडा कार्यालयमा भएको वडा अध्यक्षसहितको उपस्थितिमा सर्वपक्षीय छलफलले बुद्धचित्त फलदानाको मूल्य २२ लाख निर्धारण गरी ५ प्रतिशतले हुन आउने रकम १ लाख १ हजार राजस्व तिरेका थिए ।
२०७९ साउन ४ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकको अन्तरिमकालिन आदेशबमोजिम बुद्धचित्तको फलदाना दुवैको संरक्षण र स्वामित्वमा रहने गरी बिक्री गरी प्राप्त रकम संयुक्त स्वामित्वमा रहने गरी उचित व्यवस्थापनका लागि आवश्यक समन्वयसमेत गरिदिन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय ताथ रोसी गाउँपालिकालाई आदेश गरेको थियो ।
२०७९ साउन ६ गते बादी जयन्तीमैंया खड्गी र प्रतिवादी आईते सिं थिङ्गसमेतले बुद्धचित्तको फलदाना रकम १ करोड वा सोभन्दा बढी जसले रोसी गाउँपालिकाको खातामा जम्मा गर्छ सो व्यक्तिलाई बुद्धचित्तको फलदाना बिक्री गरी आवश्यक सहजीकरण गरिदिने निर्णयअनुसार जयन्तीमैंया खड्गीको तर्फबाट आर्यन खतिवडाले रोसी गाउँपालिकाको खातामा १ करोड १ लाख १ हजार रुपैयाँ जम्मा गरेका थिए । सोही धरौटी जम्मा गरेका आधारमा जयन्तीमायाले बुद्धचित्तको दाना टिपेर बिक्री गरेका थिए । आजको नेपाल समाचारपत्र दैनिकबाट