Logo

धान नै जीवन, जीवन नै धान



 

डा. भवप्रसाद त्रिपाठी (धानविज्ञ)—

१५ असार धानको महत्त्व बुझ्ने र बुझाउने दिन हो, तडकभडक गर्ने दिन होइन । धान नै जीवन हो, जीवन नै धान हो । हामी धान-चामलबिना बाँच्न सक्दैनौं । त्यसैले आज हामी बीसौं राष्ट्रिय धान दिवस मनाउँदै छौं । संयुक्त राष्ट्रसंघले सन् २००२ डिसेम्बर २९ मा धान दिवस मनाउने घोषणा गरेको थियो । त्यसअनुसार २००४ देखि नेपालले पनि धान दिवस मनाउन थालेको हो ।

धानको महिमा वर्णन गरिसाध्ये छैन । परापूर्वकालदेखि नै धानको चलनचल्ती रहेछ । वेदमा समेत धानको महिमा गाइएको छ । हाम्रो जन्मदेखि मृत्युकार्यसम्म धान र चामल महत्त्व छ । न्वारान, भात खुवाइ, दसैं-तिहार, श्राद्ध आदिमा पनि धान नभई हुँदैन ।

विश्वमा ६० करोड टन धान उत्पादन हन्छ । त्यसमध्ये ९० प्रतिशत उत्पादन एसियामै हुन्छ । सबभन्दा धेरै धान उत्पादन हुने देशमा चीन, भारत, बंगलादेश, फिलिपिन्स, थाइल्यान्ड आदि पर्छन् । धानको उद्गमस्थल भारत र नेपालको सीमा क्षेत्रमा भएको वैज्ञानिक अनुसन्धानको निचोड छ । बढी चामल खाने देशहरुमा नेपाल पनि पर्छ । हामी प्रतिव्यक्ति प्रतिवर्ष १३७.५ किलोग्राम खान्छौं ।

अहिले नेपालमा धान रोप्ने खेत मासिँदै छ भने वार्षिक ३३ अर्बको चामल आयात हुन्छ । धान उत्पादनका लागि मल, सिँचाइ, प्रविधिको समुचित व्यवस्था छैन । त्यसैले हामी धान चामलमा आत्मनिर्भर हुन सकेका छैनौं ।  धानका लागि प्रविधिका साथै मलखाद, सिँचाइ जरुरी हुन्छ । कतिसम्म भने गएको वर्ष सरकारले मलखादको व्यवस्था नै गर्न सकेन ।

हामी समयमै मलको व्यवस्था गर्न सके २५ र सिँचाइको व्यवस्था गर्न सके २५ पतिशत बढाउन सक्छौं । त्यसै गरी स्थान विशेषको राम्रो जात भयो भने २० प्रतिशत, समयै झारपात नियन्त्रण गर्न सके १५ प्रतिशत, स्वस्थ र गुणस्तरीय बीउ रोप्न सके ७ प्रतिशत र असारे रोपाइँ गरे ७ प्रतिशत धान उत्पादन बढ्न सक्छौं ।

हामीले धान खेती गर्ने १५ लाख हेक्टर जमिनमध्ये घडेरीमा खण्डीकरण भएकाले कतिपय खेत बाँझै छन् । १ लाख हेक्टरमा मात्र चैते धानखेती हुन्छ भने बाँकीमा वर्षे धान । अहिलेको आँकडा हेर्दा नेपालमा प्रति हेक्टर ३.८ टन धान उत्पादन हुन्छ । मलखाद, सिँचाइ, बीउ आदि सबै प्याकेजको व्यवस्था गर्न सके साढे ६ टनसम्म धान उत्पादन गर्न सक्छौं । युवाहरुको विदेश पलायनका कारण पनि अब हामीलाई यान्त्रीकरणतिर जानैपर्ने बाध्यता छ । त्यसले उत्पादन लागत कम गरेको छ ।

एक आँकडा अनुसार सुनकोसी–मरिन डाइभर्सन आयोजनाबाट सर्लाही, बारा धनुषा, महोत्तरीका १ लाख २२ हेक्टर खेत र भेरी–बबई डाइभर्सन आयाजनाबाट बाँके र बर्दियाका ५० लाख हेक्टर खेतमा सिँचाइ हुने अवस्था छ । यी दुवै आयोजना समयमै सम्पन्न भए भने हामीलाई चाहिने ५९ लाख मेट्रिक टन धान उत्पादन हुन्छ र हामी धानमा आत्मनिर्भर हुने मात्र होइन, बढी भएको धान निर्यात गरेर अर्थतन्त्रलाई टेवा पुर्‍याउन सक्छौं ।

धानविज्ञ डा. त्रिपाठीसँग नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीमा आधारित



प्रतिक्रिया दिनुहोस्