Logo

कांग्रेस रुपान्तरण अभियानका नेतालाई प्रश्न— तपाईंहरू शेखर गुटको कि गगन गुटको ?



काठमाडौं, १५ असार । नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले पार्टीको व्यापक सुधारका लागि रुपान्तरण अभियान चलाएको बताएका छन् ।
‘हामीले सातै प्रदेशमा उत्साहपूर्वक रुपान्तरण अभियान चलाइसकेका छौं । पार्टीका साथीहरुको साथ र सहयोगले यो सफल भयो । ४४ डिग्रीको घाममा पनि कार्यक्रम गर् यौं । यो सुधारको एउटा प्रयत्न हो । अब पार्टीलाई सामान्य सुधार गरेर होइन, व्यापक सुधार गर्नुपर्छ । त्यो आफूबाट सुरु गर्नुपर्छ । आजैबाट सुधार गर्नुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग खड्काले भने । अब विदेशमा बसेका साथीभाइसँग पनि जुम मिटिङमार्फत् अन्तर्किया गर्न लागेको पनि उनले बताए ।
अब कांग्रेसको ठूलो चिरफार हुन सकेन भने राजनीतिको मूलधारबाट बाहिर जाने खतरा रहेको पनि उनले औंल्याए । नेता खड्काले भने, ‘कसैलाई पावर इन्जोय गर्दा रमाइलो लागेको होला । तर पार्टीबाट जनता कति टाढा भएका छन् भन्ने थाहा छैन । प्राविधिक रुपमा कोही पदमा जाने बित्तिकै नेता हुँदैन । चुनाव लडेकै भरमा, जितेकै भरमा पनि नेता होइँदैन । यथास्थितिमा नेपाली कांग्रेसको अवस्था अझै खराब हुनेवाला छ ।’
कांग्रेसको रुपान्तरण अभियान गुट-उपगुटभन्दा माथि उठेर सबै पक्षका साथीभाइहरुसँग मिलेर अघि बढाइएको पनि खड्काले बताए । उनले भने, ‘अहिलेको नेतृत्वले पार्टीको पिकअप गर्न सक्दैन । यो नेतृत्वलाई सुधार गर्न पनि सकिँदैन । गाली गरेर पनि साध्ये छैन । त्यसैले आफैंबाट रुपान्तरण भन्ने एजेन्डा बनाएर जानुपर्छ । हाम्रो अभियान कांग्रेसलाई विधि, पद्धति र संस्थागत गर्ने हिसाबले अघि बढाइएको हो । नेतृत्वले विधानअनुरुप काम नगरेकाले अघि बढाइएको हो । आज जे भने पनि भोलि सबै पार्टी रुपान्तरणको अभियानमा आउनुपर्छ ।’
तपाईंहरु शेखर कोइराला गुटको हो कि गगन थापा गुटको हो भन्ने पत्रकार धमलाको प्रश्नमा नेता खड्काले भने, ‘हामी कुनै गुटमा छैनौं । हामी न इतर हौं, न भितर हौं । हामी व्यक्तिलाई देवत्वकरण गर्न रुपान्तरण अभियानमा लागेका होइनौं । व्यक्तिगत रुपमा हामी कसैसँग नजिक हौला । तर हामी व्यक्तिको होइन, पार्टीका मानिस हौं । हाम्रो एजेन्डालाई जसले समर्थन गर्छ, ऊ हामीसँग आउँछ, जो गर्दैन, त्यो जान्छ । चाहे त्यो गगन, शेखर वा देउवाजी नै किन नहुन् ।’
इतर र भितर भनिने नेताहरुले आफ्नो स्वार्थ अनुसार सम्झौता गर्दै गएको आरोप पनि खड्काले लगाए । उनले थपे, ‘भरखरै तरुण दलको तदर्थ समिति भनेर २५ वर्षदेखि ५० वर्षसम्म ४०० मान्छे राखियो । जब कि विधानमा ४५ जनाको समितिको व्यवस्था छ । यो विधान विपरीत छ । रुपान्तरण अभियानको खिलाफमा छ । यसरी नै गएमा इतर र भितर भन्ने नेताहरुको ऐतिहासिक भूल हुनेछ । यसरी पार्टी चल्दैन । विघटनको दिशामा जान्छ ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot