Logo

यसकारण भूमाफिया हरि गिरीलाई सीआईबीको छानबिन दायरामा ल्याउनुपर्छ



सुनिल सापकोटा –

काठमाडौं, १५ असार । २०२२ सालको नापीनक्सा अनुसार अनामनगर हुँदै धोबीखोला बग्थ्यो । साबिक महादेवस्थान गाउँ पञ्चायत वडा नम्बर ५ को १४३ नम्बर कित्तामा २३ रोपनी जग्गा धोबीखोलाले चर्चेको देखिन्छ । समयक्रमसँगै धोबीखोलाले धार परिवर्तन गर्‍यो । १४३ नम्बर कित्ताको धोबीखोलाको २३ रोपनी सरकारी जग्गा काठमाडौं महानगरपालिका वडा नम्बर १० र ३२ (हाल परिवर्तित २९)मा पर्न गएको छ ।

२०५९ साल बैशाख ५ मा सरकारले चन्द्रबहादुर थापा र चन्द्रकुमारी थापालाई १४३ नम्बर कित्तामध्येबाटै १ रोपनी ६ आना जग्गा गुहेश्वरी ढलभित्र परेको जग्गाको सट्टाभर्ना दिने निर्णय गर्‍यो । उक्त निर्णयसँगै १४३ नम्बर कित्ता ३ कित्तामा विभाजित भयो । सरकारको निर्णय अनुसार मालपोत कार्यालयले १४३ नम्बर कित्तालाई ६९७,६९८ र ६९९ नम्बर कित्तामा विभाजन गरिदिएको । चन्द्रबहादुर थापा र चन्द्रकुमारी थापा ६९७ नम्बर कित्ताको १ रोपनी ६ आना जग्गा सट्टाभर्नामा पाए । तर, स्थानीयको विरोधपछि २०६७ सालमा मन्त्रिपरिषद्ले उनीहरूलाई अर्के ठाउँमा जग्गा दिएर ६९७ नम्बर कित्ताको १ रोपनी ६ आना जग्गा नेपाल सरकारकै नाममा फिर्ता ल्यायो ।

६९७ कित्ताको १ रोपनी ६ आना उक्त जग्गामध्ये हरिप्रसाद गिरीले ५ आना हालसाबिक गरेर कर्लप्पै खाइदिए । त्यसमध्ये १ आना जग्गा भूमाफिया गिरीले शान्ता दाहाललाई बेच्न भ्याएका छन् । गिरीले १८२ नम्बर कित्तामा ४ आना सरकारी जग्गा घुसाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठहर छ । १ रोपनी ६ आना जग्गामध्ये भूमाफिया गिरीको चलखेलमा १४ आना मात्र बाँकी रहेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा सबै जग्गा अहिले नेपाल सरकारको नाममा फिर्ता आइसकेको छ । यो विषयमा बालुवाटार काण्डमा जस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भूमाफिया गिरी र मालपोत तथा नापीका संलग्न कर्मचारीमाथि छानबिन गर्न जरुरी छ । यो सरकारी जग्गा लिखत किर्ते गरेर हालसाबिक गरी उनको नामामा घुसाइएकाले अख्तियारले छानबिन गर्न आवश्यक देखिन्छ ।

सरकारी जग्गा किर्ते गरेर खाने अनामनगरका भूमाफिया गिरी पत्रकारमाथि अभद्र व्यवहार गर्न थालेका छन् । उनलाई जोगाउन वडाका जनप्रतिनिधिदेखि राज्य संयन्त्रको दुरुपयोग गर्न खोजिएको छ । यो विषयमा नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण गराउँदै आएको छ । प्रहरी प्रशासनले पत्रकारमाथि अभद्र व्यवहार गर्ने भूमाफिया गिरीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने पत्रकार महासंघको माग छ ।



प्रतिक्रिया दिनुहोस्