Logo

‘कांग्रेसले अहिलेको सरकारलाई समर्थन गर्दिन भन्यो भने सिद्धिएन ?’



काठमाडौं, १६ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वसांसद रामनारायण बिडारीले पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई बजेटको खड्गो हुँदै नभएको बताएका छन् ।
‘बजेटमा विवाद भएको होइन, बजेट संशोधन गर्ने कि नगर्ने भन्ने विवाद थियो । बेलायतको पुरानो सय वर्ष पुरानो चलन भन्दै स्याल हुइँया मच्चाइयो । सरकारले चाहेमा बजेट संशोधन गर्न सक्थ्यो । बेलायतमा पनि बजेट संशोधन हुन्छ । प्रचण्डको सरकारलाई कुनै खड्गो थिएन,’ छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता बिडारीले गठबन्धन सरकार भएकाले प्रधानमन्त्री प्रचण्डले रफ्तार लिन नसकेको औंल्याए । उनले भने, ‘यो एकल पार्टीको सरकार होइन । सरकारमा गठबन्धन छ । शक्तिशाली पार्टीले निहुँ खोजे सरकार ढल्छ । कांग्रेसले अहिलेको सरकारलाई समर्थन गर्दिन भने सिद्धिएन ? विकास निर्माण, अर्थव्यवस्था, सुशासनमा काम भइरहे पनि त्यो हाई स्पिडमा जान नसकेको त्यही कारण हो । गठबन्धनको चित्त बुझाई बुझाई काम गर्नुपर्ने अवस्था छ ।’
सरकारको कामकारबाही आलोचनायोग्य नभएको पनि बिडारीले बताए । उनले भने, ‘प्रधानमन्त्रीले जादु गर्ने हो र ? नेपाल गरिब भएको आज हो र ? नेपालको राजनीति आज गडबड भएको हो र ? फोहोर थुप्रिएको अहिले हो र ? मैले एकदम राम्रो भएको भन्या होइन, राम्रो गर्नेतिर उन्मुख भएको भन्या छु । यसले आशा जगाएको छ । सरकारको काम आलोचनायोग्य होइन, प्रशंसायोग्य नै छ ।’
सरकारको कामकारबाहीबाट भ्रष्टाचारीहरु अत्तालिएको बिडारीको दाबी छ । साथै उनले अहिले कांग्रेस र एमाले मिलेर सरकार बनाउने परिस्थिति नभएको बताए । बिडारीले थपे, ‘हाम्रो भनाइ कम्तीमा दुई अढाइ वर्ष प्रचण्ड सरकारमा बस्नुपर्छ भन्ने हो । तर गठबन्धनको सरकार पाँचै वर्ष चल्नुपर्छ ।’
प्रदेशले ‘हाई फाई’ गर्दा संघीयतामाथि नै खतरा बढेको आरोप पनि बिडारीले लगाए । उनले भने, ‘प्रदेशमा संविधानले दिएको अधिकारभन्दा पनि बढी हाईफाई, ढ्याइँढ्याइँ, ढुइँढुइँ र रजाइँ बढ्ता भो । केन्द्रकै सिको गरेर सांसदलाई बजेट बाँड्न थाल्नुभो, मन्त्रालय टुक्र्याउन थाल्नुभो । मोटर धरै चढ्नुभयो । खर्च धेरै गर्नुभो । अनि मान्छेले भन्ने बाटो पाएका छन् । यस्तै गर्नुभो भने संघीयतालाई खतरा हुन्छ । संघीयतालाई खतरा केन्द्रबाट होइन, प्रदेशबाटै छ ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot