Logo

त्रिचन्द्र क्याम्पस पुनर्निर्माणको काम २० प्रतिशत सम्पन्न



काठमाडौं, असार १७ । भूकम्पबाट क्षतिग्रस्त भएको काठमाडौँको त्रिचन्द्र क्याम्पसको पुनर्निर्माण कार्य धमाधम भइरहेको छ । छ महिना अघिदेखि सुरु भएको पुनर्निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न हुने छ ।

पुनर्निर्माण कार्यमा संलग्न इन्जिनियर रोशन यादवले पुनर्निर्माण कार्य करिब २० प्रतिशत सकिएको जानकारी दिए । निर्माण कार्यका कारण त्यहाँ सञ्चालन हुँदै आएका कक्षालाई पश्चिमतर्फको सरस्वती सदन र अस्थायी कक्षाकोठामा सञ्चालन गरिँदै आएको छ ।

गत २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको त्रिचन्द्र क्याम्पसको घण्टाघरतर्फको भवनको अधिकांश भाग धराप परेको थियो । सो भवनमा जोखिमका साथ पठनपाठन हुँदै आएको थियो । सहरी तथा भवन निर्माण विभागले पुनर्निर्माण कार्य गर्दै आएको छ ।

यसका लागि ५१ करोड रुपियाँ विनियोजन गरिएकोमा ठेकेदार कम्पनी न्यु टेक्निकल इन्फ्रा प्रालिले करिब ३४ करोड ६७ लाख ४६ हजार रुपियाँमा निर्माण सम्पन्न गर्ने गरी सकारेको छ ।

क्याम्पसका सूचना अधिकारी बालकृष्ण पौडेलका अनुसार पुरानो भवनको केही भाग पूर्ण रूपमा नयाँ निर्माण गरिने छ भने केही भाग प्रबलीकरण (रेट्रोफिटिङ) गरिने छ । तीनतले भवनका १३ वटा कक्षाकोठा प्रयोगमा थिए । भवन निर्माण संलग्न सहायक इन्जिनियर रोशन यादवका अनुसार पुरातत्व विभागको मापदण्ड अनुसार निर्माण सामग्री प्रयोग गरिएको छ ।

क्याम्पसका सूचना अधिकारी पौडेलले भवन निर्माण सम्पन्नपछि घण्टाघरमा नयाँ घडी राखिने बताउनुभयो । हालको घडी तत्कालीन प्रधानमन्त्री वीरशमशेरको पालाको हो । सो घडीलाई हरेक तीन दिनमा दम दिनुपर्छ । हालको घडीलाई त्रिचन्द्र परिसरमा सङ्ग्रहालय निर्माण गरी सुरक्षित राखिने छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्