Logo

सरकारमा राम, श्याम वा घनश्याम जो आए पनि उस्तै हो : कांग्रेस नेता



काठमाडौं, १८ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद डा. नारायण खड्काले तत्काल नेकपा एमालेसँग नयाँ गठबन्धन बन्ने सम्भावना नभएको बताएका छन् ।
‘बाहिर तपाईंजस्ता पत्रकार साथीहरुले अन्दाजमा हेडलाइन ठोक्दिनुहुन्छ । तर सरकार चेन्ज गर्ने, हामी एमालेसँग जाने वा एमाले हामीसँग आउने र नयाँ गठबन्धन बन्ने त्यस्तो कुनै कुरा भएको छैन । तर नेपालको राजनीतिक तरल छ । कतिखेर के हुन्छ यसै भन्न सकिँदैन । सरकारमा बसेकाले पनि कतिखेर मन बहलाउँछन्, थाहै हुन्न,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

‘राष्ट्रभक्त र इमानदार सरकार आवश्यक’
नेता डा. खड्काले विगतमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाले पनि एमालेसँग मिलेर सरकार बनाएको दृष्टान्त दिँदै मुलुकका तमाम समस्या समाधान गर्न मिलेर जानुपर्ने अवस्था रहेको पनि औंल्याए । उनले भने, ‘एभ्रिथिङ इज हङ्की—डोरी वा पोलिटिक्स इज हङ्की—डोरी भन्या जस्तो छैन । सबै ठिकठाक भनेजस्तो छैन । आन्तरिक र बाह्य रुपमा परिस्थिति अत्यन्त जटिल छ । देश र जनताप्रति समर्पित राष्ट्रभक्त र इमानदार सरकार आवश्यक छ ।’

‘जनताको आक्रोश विद्रोहमा बदलिन नदिऔं’

जनताको आक्रोशलाई विद्रोहमा परिणत हुन नदिन सरकार समयमै सचेत हुनुपर्ने पनि उनले बताए । डा. खड्काले भने, ‘सरकारमा राम, श्याम, घनश्याम आएर मात्र केही हुने होइन । जनताको निराशा आक्रोशमा परिवर्तन भएको छ । आक्रोशबाट अब विद्रोहमा परिणत हुन नदिन समयमै सचेत हुनुपर्छ । अब म सजिलै सरकारमा आइहाल्छु भनेर खड्गप्रसादजीले पनि नसोचे हुन्छ । पुष्पकमल दाहाल पनि गम्भीर नभए रुपमा त्यो विद्रोहको बाफले कसलाई हान्छ, थाहा छैन ।’

‘फूर्तिफार्ती नेदखाए हुन्छ, यहाँ कोही चोखा छैनन्’
भ्रष्टाचारीमाथिको कारबाही समयको माग भएको र सबैमाथि छानबिन आवश्यक रहेको पनि डा. खड्काले औंल्याए । उनले भने, ‘कसैले फूर्तिफार्ती नदेखाए हुन्छ । यहाँ कोही चोखा छैनन् । शीर्ष नेताहरुको आशीर्वादमा यहाँबाट त्यहाँ फड्को मारेका मानिस छन् । पाइला पाइलामा भ्रष्टाचार छ । त्यसलाई जनताले जज गरिरहेका छन् । दुईचार समातिएर मात्र केही हुनेवाला छैन । बाध्यात्मक परिस्थितिले एक्सपोज हुन पुगेको मात्र हो । पुष्पकमलको ठाउँमा इन्द्रकमल भएको भए पनि यही गर्नुपर्थ्र्यो ।’

‘महाधिवेशनको म्यान्डेट लिएर आएको नेतृत्वलाई कसरी चेन्ज गर्ने ?’
अर्को प्रसंगमा उनले महाधिवेशनबाट म्यान्डेट लिएर आएको पार्टी नेतृत्वलाई हटाउन नमिल्ने जिकिर गरे । डा. खड्काले भने, ‘पार्टीको केन्द्रीय समिति बैठक राख्न ढिलासुस्ती भएको छ । पार्टी सभापति शेरबहादुर देउवालाई तीनचार दिन अगाडि भेटेर पनि भनें- साथीभाइको कुरा सुन्नुपर् यो । भोलि सभापति, प्रधानमन्त्री बन्ने आकांक्षा लिएर हिँड्नुभएका युवा साथीहरुले बाहिर मिडियामा गएर ताली पाउने कुरा मात्र गर्नुभएन । महाधिवेशनको म्यान्डेट लिएर आएको नेतृत्वलाई कसरी चेन्ज गर्ने ? आज एउटा नेतृत्व होला, भोलिे अर्को नेतृत्व आउला । त्यसरी नेतृत्वले कसरी डेलिभर गर्न सक्छ ?’

‘कांग्रेसको विधान बदल्नैपर्छ’
सबैलाई मिलाएर जाने जिम्मेवारी पार्टी सभापतिकै भएको पनि डा. खड्काले बताए । पार्टीको विधान बदल्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘यस्तो विधानले न सभापतिले काम गर्न सक्छ, न त पदाधिकारीले नै काम गर्न सक्छन् । मैले भारतको कांग्रेस आई, बेलायतका कन्जरभेटिभ र लेबर पार्टीको पनि विधान हेरेको छु । १२-१३ जना पदाधिकारीको निर्वाचन गर्ने पद्धति कहीं देखेको छैन । सभापतिलाई अधिकार पनि दिनुपर्छ, जवाफदेही पनि बनाउनुपर्छ । कांग्रेसको विधानले नै पार्टीलाई एक हुन दिएको छैन । अब विधान बदल्नैपर्छ ।’

‘राष्ट्रिय मुद्दामा सबै दलहरु एक हुनुपर्छ’
पूर्व परराष्ट्रमन्त्री समेत रहेका डा. खड्काले पुष्पकमल दाहाल प्रचण्डको सरकार उग्रता र खोक्रो राष्ट्रवादभन्दा शालीन कूटनीतिमार्फत अघि बढ्नुपर्ने पनि बताए । उनले भने, ‘प्रधानमन्त्री भारतसँग सातआठवटा सम्झौता गरेर आउनुभो । अब चीन जाँदै हुनुहुन्छ । इटाली पनि जाने कुरा छ । यस्ता कूटनीतिक भ्रमण अन्तर्राष्ट्रिय सम्बन्धका आयाम हुन् । हामीले भारत वा चीनलाई रिझाउने वा चिढ्याउने होइन, आफ्नो राष्ट्रिय हित हेर्ने हो । एकले अर्कालाई आशंका नहुने गरी पारदर्शी ढंगबाट सम्बन्धलाई अघि बढाउनुपर्छ ।’ राष्ट्रिय मुद्दामा सबै दलहरु एक भए छिमेकीसँग ‘डिल’ गर्न सजिलो हुने पनि उनले औंल्याए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot