Logo

१० वर्षमा १० हजार मेगावाट विद्युत खरिद सहमति : भारतले आफ्नो लगानीको मात्रै विद्युत किन्ने !



काठमाडौं, १८ असार । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने घोषणा गरेको एक महिना बित्न लागेपछि त्यस सम्बन्धमा दुई देशबीच सहमति हुने भएको छ । दुवै पक्षले सहमतिको लागि आन्तरिक गृहकार्य थालिसकेका छन् ।

गत जेठ १७–२० को प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत खरिद गर्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीको संयुक्त पत्रकार सम्मेलनको क्रममा मोदीले १० वर्षमा १० हजार मेगावाट विद्युत किन्ने सहमति भएको घोषणा गरेका थिए ।

उक्त घोषणासँगै प्रधानमन्त्री दाहालले आफ्नो भ्रमणको ठूलो सफलतामध्ये एक यो पनि भएको दाबी गरे । नेपालबाट भारत भ्रमणमा गएका उद्योगी तथा व्यवसायीहरुले पनि भारत भ्रमणको क्रममा भएको यस्तो घोषणालाई लिएर सकारात्मक जवाफ दिए । भारतले भने नेपालमा भारतीय लगानी वा नेपाल सरकारको लगानीमा सम्पन्न आयोजनाबाट मात्रै विद्युत खरिद गर्ने अडान राखेको छ ।

अहिले दुई देशबीचका अधिकारीबीच भैरहेको गृहकार्यमा पनि भारतले आफ्नो अडान कायमै राखेको छ । भारतले नेपालमा चिनियाँ लगानीबाट वा अन्य देशको लगानीमा निर्माण भएका जलविद्युत आयोजनाबाट उत्पादन भएका विद्युत नकिन्ने अडान लिएको छ ।

प्रधानमन्त्री दाहालले भने भारतको लगानीबाहेक अन्य देशको सहयोगमा निर्माण भएका आयोजनाबाट उत्पादन हुने विद्युत पनि भारतले किन्ने सार्वजनिक टिप्पणी गर्दै आएका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot