काठमाडौं, असार १९ । परराष्ट्रमन्त्री एनपी साउद अजरबैजानमा हुने असंलग्न आन्दोलनको समन्वय ब्युरोको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन आज त्यसतर्फ जाने भएका छन्।
अजरबैजानको बाकुमा यही असार १८ देखि २१ गतेसम्म ‘असंलग्न आन्दोलन : उदीयमान चुनौतीहरूको सामना गर्न एकताबद्ध र अटल’ भन्ने नाराका साथ हुन गइरहेको बैठकलाई उनले भोली असार २० गते सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अजरबैजान सरकारका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्नुका साथै विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँगसमेत भेटवार्ता गर्ने कार्यक्रम छ। उनी असार २३ गते स्वदेश फर्कनेछन् ।