Logo

ओलीजस्तो अराजक मान्छेसँग यो जुनीमा गठबन्धन गरेर जाने सम्भावना छैन : कांग्रेस नेता



काठमाडौं, १९ असार । नेपाली कांग्रेसका नेता प्रकाश स्नेही रसाइलीले पार्टीको रुपान्तरण अभियान गुटबन्दी नभएको दाबी गरेका छन् ।
‘हामीले पार्टीलाई कमजोर बनाउने होइन, रुपान्तरणको एजेन्डा उठाएका छौं । पार्टीको केन्द्रीय समिति बैठक नबसेको वर्ष दिन पुग्न लागेको छ । महासमिति बैठक, नीति अधिवेशन हुन सकेको छैन । भातृसंस्था लथालिंग छन् । कांग्रेसलाई बलियो, सशक्त, प्रभावकारी र जनप्रिय बनाउने अभियान चलाउँदा पार्टी सभापति, वरिष्ठ नेता र महामन्त्रीहरु त खुसी पो हुनुपर्ने हो । यसलाई गुटबन्दी भन्नु लोकतान्त्रिक विधि र पद्धति नबुझ्नु हो, ‘ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
उनले कांग्रेस रुपान्तरण अभियान पार्टीलाई २०१५ सालको अवस्थामा फर्काउने सफल हुने विश्वास पनि व्यक्त गरे । उनले भने, ‘अहिले पनि कांग्रेस बिग्रेको वा भत्केको छैन । तर यो भन्दा कसरी राम्रो बनाउने भन्ने हाम्रो अभियानको उद्देश्य हो । हामी जनताका भावना र मनसाय बुझिरहेका छौं । कांग्रेस एक शताब्दी अघि जन्मिएका पार्टी हो, एक वर्षअघि जन्मिएको हो । हिमनदी र खहरेको तुलना हुन सक्दैन । हामी कांग्रेसलाई २०१५ सालको अवस्थामा फर्काउन सक्छौं ।’
नेता रसाइलीले कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउनु अर्को राजनीतिक दुर्घटना हुने पनि औंल्याए । उनले भने, ‘केपी शर्मा ओलीजस्तो अराजक मान्छेसँग यो जुनीमा गठबन्धन गरेर जाने सम्भावना छैन । ओलीलाई प्रचण्ड, माधव, झलनाथ, देउवा सबैले भोगिसके । अहिले पनि ऊ झुटको खेती गर्ने, भ्रम फैलाउने गरिरहेको छ । एमालेले अबको पाँच वर्ष प्रतिपक्षमै बस्ने मनोविज्ञान बनाउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्