Logo

प्रचण्ड र देउवा मिलेर गाँठोबन्धनका नाममा देशलाई थङ्थिलो बनाए : एमाले नेता



काठमाडौं, २० असार । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री केशव बडालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा मिलेर देशलाई थङ्थिलो बनाएको आरोप लगाएका छन् ।
‘प्रचण्ड संसदलाई कति कमजोर बनाउन चाहनुहुन्छ भन्ने कुरा प्रीतम सिंह मलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली धाउनुभयो भन्न समेत लाज मान्नुभएन । यो तीन करोड नेपाली जनता र संसद्का २७५ माननीयप्रतिको अपमान हो । भारत भ्रमणमा नागरिकता विधेयकको कपी लिएर जानुभयो । प्रचण्ड र शेरबहादुर देउवा मिलेर गाँठोबन्धनका नाममा देशलाई थङ्थिलो बनाए,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता बडालले सात महिनासम्म संसदीय समितिको सभापति छान्न नसक्नु लाजमर्दो स्थिति रहेको पनि औंल्याए । उनले भने, ‘पहिले पहिले एउटा सेसनमा ५८ वटासम्म विधेयक पारित हुन्थ्यो । अहिले सात महिनासम्म संसदीय समितिको सभापति समेत छान्या छैन । संसद्को लिडर प्रधानमन्त्री हो । सभामुख रेफ्री मात्र हो । संसदीय समिति मिनी संसद् हो । विचारमन्थन गर्ने ठाउँ हो । तर तिनै संसदीय समितिमा सभापति चयन गर्न नसक्नु लाजमर्दो कुरा हो ।’
ललिता निवास प्रकरणमा को को पर्लान् जेलमा भन्ने पत्रकार धमलाको प्रश्नमा बडालले ललिता निवास प्रकरणमा निर्णय गर्ने उम्कने र कार्यान्वयन गर्नेमाथि लाठी चलाउन नमिल्ने बताए । उनले थपे, ‘त्यस्तो भविष्यवाणी गर्न सक्ने ज्योतिषी म होइन । यो देश नियम, कानुन अनुसार चल्या छैन । किन चल्या छैन, कसरी चल्या छैन ? मैले भन्दा तपाईंले धेरै जान्नुहुन्छ । तर निर्णय गर्ने उम्कने, कार्यान्वयन गर्नेमाथि लाठी चलाउने गर्न मिल्दैन ।’
साथै उनले मुग्लिन–नारायणगढ राजमार्गको विकल्पमा निजगढ एयरपोर्ट र फास्ट ट्रयाकको काममा ढिलासुस्ती गर्न नहुने र राजमार्ग निर्माण गर्दा सुरुङ प्रविधिमा जोड दिनुपर्ने औंल्याए । बडालले केही सहकारीले बिगार गर्दा सबैलाई दोष लगाउनु उपयुक्त नहुने पनि बताए । उनले थपे, ‘पैसा जम्मा गर्न नआउने, फिर्ता लिन मात्र आउने स्थितिमा सहकारीले त के, नेपाल राष्ट्र बैंकले पनि थेग्न सक्दैन नि ।’



प्रतिक्रिया दिनुहोस्