Logo

एमालेलाई रहर लाग्दैमा कांग्रेसले नयाँ गठबन्धन बनाउने कुरा आउँदैन : महर



काठमाडौं, २० असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धनको स्पिरिट र न्यूनतम साझा कार्यक्रम अनुसार चलेसम्म सरकारको विकल्प नखोजिने बताएका छन् ।
‘पार्टी सत्ता नरहे एमालेको मिसनरीले काम गर्न छाड्छ । किनभने हिजो उसले तीन वर्षभन्दा बढी सत्ताको वरिपरि टिकाइरहेको एउटा जमात छ । एमालेलाई रहर लाग्दैमा हामीले नयाँ गठबन्धन बनाउने कुरा आउँदैन । कांग्रेस अहिलेकै गठबन्धनलाई अगाडि बढाउन चाहन्छ । प्रधानमन्त्री गठबन्धनको स्पिरिट र न्यूनतम साझा कार्यक्रम अनुसार चलेसम्म विकल्प खोज्दैनौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
महरले सरकारभन्दा पनि संसद् प्रभावकारी हुन नसकेको आरोप पनि लगाए । उनले भने, ‘सरकार भोटेघोडाजस्तो हिँडिरहेको छ, अब वायुपंखी गतिमा हिँड्नुपर्छ । तर संसद् सरकारजति पनि प्रभावकारी हुन सकेको छैन । जनताका सवाल उठेको छैन । विधेयक निर्माण भएका छैनन् । संकल्प प्रस्ताव पारित गरेको छैन । सरकार निर्माण, विघटनको रुटिन अनि मान सम्मान र भत्तामा मात्र अलमलिनु दुर्भाग्यपूर्ण हो । त्यसलाई छोप्न मिडियाबाजी र स्टन्टबाजीमात्र गरिरहेको देखेको छु ।’ साथै उनले अर्थमन्त्री र गभर्नर, प्रधानन्यायाधीश र कानुनमन्त्रीबीच राम्रो सम्बन्ध दुर्भाग्यपूर्ण हुने बताए ।
नेता महरले नेपाली कांग्रेसमा विशेष महाधिवेशनभन्दा नीति अधिवेशनको खाँचो रहेको औंल्याए । उनले भने, ‘कोभिडमा कारण हामीले चौधौं महाधिवेशनको बन्दसत्रमा नीति र कार्यक्रमबारे बहस गर्न सकेनौं । त्यसकारण छिटोभन्दा छिटो नीति महाधिवेशन गर्ने प्रतिबद्धता जनाएको थियो । त्यो नै कार्यान्वयन नभईकन विशेष महाधिवेशनको चर्चा गर्नु नियमित महाधिवेशनलाई नै पर धकेल्नु हो ।  विशेष महाधिवेशन एउटा व्यक्तिका लागि मात्र होइन, सामूहिक नेतृत्वकै लागि हुने हो । १८ महिना बितिसक्यो । अब त्यो झन्झटमा पर्नुभन्दा पनि दुई महिनाभित्र नीति महाधिवेशन गर्नुपर्छ ।’

पार्टीको शेखर कोइराला समूहले भन्दा पहिले आफूले केन्द्रीय समितिको बैठक माग गरेको पनि महरको दाबी छ । उनले भने, ‘अहिलेसम्म शेखर दाइ र उहाँको समूहबाट केन्द्रीय समितिको बैठक राख्नुपर्छ भनिएको छैन । बरु मैले प्रत्येक दुई महिनामा केन्द्रीय समितिको बैठक राख्नुपर्ने कुरा उठाएको छु । सधैंभरि पदाधिकारीको नाममा निर्णय गराउनु उचित होइन । तत्काल केन्द्रीय समिति बैठक बस्नुपर्छ ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot