काठमाडौं,२० असार । बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले बजेटमा प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाका योजनाहरुलाई पुनः समावेस गर्ने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त निर्णय गरेको हो । सरकारले सदनमा ल्याएको आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेटमा प्रतिपक्षी दलका सुझावलाई नसमेटेको भन्दै एमाले -राप्रपाले निरन्तर संदन अवरोध गरेका थिए ।
त्यस्तै आजको बैठकले पहिलोपटक प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा १५ को उपदफा १ बमोजिम डा.चन्द्रप्रसाद लुइँटेल र पूर्णबहादुर दर्जीलाई प्रदेश प्रशासन सेवा, एघारौं तहमा बढुवा गरेको छ । भने पर्यटन उद्योग तथा सहकारी मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजना, हेटौंडा र पर्यटन विकास आयोजना, इकाई कार्यालय, काठमाडौँको २०८० श्रावणदेखि २०८२ आषाढ मसान्तसम्म २ वर्षको लागि म्याद थप्ने निर्णय गरेको छ ।