Logo

भानु जयन्तीको अवसरमा उपत्यकाव्यापी कविता महोत्सव गर्दै प्याब्सन, ५० वटा विद्यालयलाई सहभागी गराइने



काठमाडौं, २० असार । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँले भानु जयन्तीको अवसरमा उपत्यकाव्यापी प्रथम कविता महोत्सव तथा साहित्य श्रष्टा सम्मान कार्यक्रम गर्ने भएको छ ।

आज (बुधबार) प्याब्सन काठमाडौंले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी गराएको हो । प्याब्सन काठमाडौंका सचिव सुदर्शन थापाले आदिकवि भानुभक्त आचार्यको २१०औं जन्म दिवसको अवसरमा आगामी असार २९ गते कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रम टुरिजम बोर्डमा विहान ९ बजेबाट सुरू हुनेछ ।

कार्यक्रमका संयोजक एवं प्याब्सन काठमाडौंका सह–कोषाध्यक्ष बिएन अधिकारीले बालसाहित्यको विकास, बालबालिकाभित्र रहेका अन्तर्निहित प्रतिभाको प्रष्फुटन, आदिकवि भानुभक्त आचार्यको सम्मान र श्रष्टाहरुको सम्मान नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।

‘बाल साहित्यको विकास गर्नु, बालबालिकाभित्र रहेको अन्तर्निहित प्रतिभा प्रष्फुटन गराउनु, साथसाथै विद्यालयस्तरबाट नेपाली साहित्यको विकास गराउनु नै यो कार्यक्रमको उद्देश्य हो । आदिकवि भानुभक्त आचार्यको सम्मान गर्नु र नेपाली साहित्यमा कलम चलाउनेहरुको सम्मान गर्नु पनि यो कार्यक्रमको उद्देश्य हो,’– उनले भने ।

प्याब्सन काठमाडौंका अध्यक्ष एवं साहित्यकार प्रेमकुमार राईले साहित्य समाजको पथप्रदर्शक भएको बताए । बालबालिकाहरुमा साहित्यप्रतिको प्रेम जगाउनका लागि कविता महोत्सव गर्न लागिएको उनको भनाई छ ।

संस्थागत विद्यालयका विद्यार्थीहरु नेपाली विषयमा कमजोर हुन्छन् भन्ने आरोपलाई चिर्न र विद्यार्थीहरुमा साहित्यप्रति भोक जगाउनका लागि पनि कार्यक्रम उपयोगी हुने उनले बताए ।

कार्यक्रममा काठमाडौं, भक्तपुर र ललितपुरमा रहेको निजी विद्यालयबाट प्रत्येक विद्यालयबाट एक जना सहभागी हुने गरी ५०जना विद्यार्थी सहभागिता जनाउने बताईएको छ ।

साथै, उक्त कार्यक्रममा राष्ट्रियस्तरका दुई जना श्रष्टाहरुलाई सम्मान गर्न लागिएको पनि उनले बताए । कार्यक्रममा सहभागी हुने विद्यार्थीको कविता मौलिकता झल्कने खालको हुनुपर्ने अध्यक्ष राईले बताए ।

कविता विद्यार्थी स्वयम्ले लेखेको हो, होइन भन्ने कुराको निर्णय गर्ने अधिकार निर्णायक मण्डलमा रहेको उनको भनाई छ । कविता महोत्सवको निर्णायक मण्डलमा कविद्वय श्रवण मुकारुङ र प्रभा भट्टराई रहेका छन् ।

असार २९ गते विहान प्रभातफेरी कार्यक्रमका साथ आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरी कार्यक्रमको सुरुवात गरिने बताइएको छ । प्रत्येक विद्यालयबाट एक जना विद्यार्थी मात्र (First Come First) को आधारमा सहभागी गराइने बताइएको छ । कविता कुनै पनि शीर्षकमा लेख्न सकिने र एक सय ५० शब्द नबढाई गद्य वा पद्य दुवै शैलीमा लेख्न सकिने आयोजकले बताएको छ ।

विद्यार्थीले लेख्ने कविता देशप्रेम, प्राकृतिक सौन्दर्य, प्रकृतिप्रेम, मानवता, समसामयिक चेतना झल्काउने प्रकृतिको हुनुपर्ने छ भने सहभागिता शुल्क एक हजार रुपैयाँ राखिएको छ । सहभागी हुन चाहने विद्यार्थीले असार २५ गतेभित्र काठमाडौं प्याब्सनको इमेलमा कविता पठाउने आह्वान गरिएको छ । विद्यार्थीले रचना गरेको कविता प्याब्सन काठमाडौंको इमेल [email protected] मा पठाउनु पर्ने छ ।

मूल्याङ्कनको आधार लेखन र वाचन दुवैको आधारमा गरिने छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय पुरस्कारसहित अन्य ७ जनालाई सान्त्वना पुरस्कार प्रदान गरिने बताइएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय पुरस्कार सहित अन्य ७ जनालाई सान्त्वना पुरस्कार प्रदान गरिने छ । प्रथम पुरस्कार नगद १५ हजार, मेडल तथा प्रमाण, द्वितीय पुरस्कार नगद १५ हजा मेडल तथा प्रमाण, तृतीय पुरस्कार नगद १० हजार, मेडल तथा प्रमाण पत्र, चौथो र पाँचौं पुरस्कार नगद चार हजार, मेडल तथा प्रमाण रहेको छ । त्यसैगरी शान्त्वना पुरस्कार नगद तीन हजार र मेडल तथा प्रमाण–पत्र पाँच जनालाई प्रदान गरिने आयोजकले बताएको छ ।

पत्रकार सम्मेलनमा प्याब्सनका वरिष्ठ उपाध्यक्ष नवराज भट्ट, उपाध्यक्ष सूर्य भण्डारी, कोषाध्यक्ष आरबी अधिकारी, सहसचिवद्वय अनिल पराजुली, ओमप्रसाद ढकाल, प्याब्सन परीक्षा विभागका सचिव सूर्यबहादुर केसीलगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्