जनकपुरधाम, असार २१ । जनकपुरधामको एउटा निजी अस्पतालमा एक जना रोगीको मृत्यु भएपछि ५ लाख रुपैयाँमा मिलापत्र भएको छ । पैसा लिएर यहाँका विभिन्न अस्पतालमा मिलापत्र गराउने कार्य एक वर्षमै एक दर्जनभन्दा बढी भएको छ ।
गोदावरी हस्पिटल प्रालिमा उपचारका क्रममा मृत्यु भएका एक युवकको घटनालाई ५ लाख रुपैयाँमा मिलापत्र भएको हो । धनुषाको धनौजी गाउँपालिका–२ का ३२ वर्षीय पपु रायको सोमबार साँझ उपचारका क्रममा मृत्यु भएपछि स्थानीयले क्षतिपूर्ति माग गर्दै तोडफोडको प्रयास गरेका थिए ।
उपचारमा लापर्बाही गर्दा मृत्यु भएको भन्दै आफन्तजनले अस्पतालमा तोडफोडको प्रयास गरेपछि सोमबार मध्यरातिसम्म अवस्था तनावग्रस्त बनेको थियो । व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । राति अस्पतालमा तोडफोडसमेत भएको छ । तोडफोडबाट अस्पतालका सिसा फुटेको अस्पतालको सञ्चालक डा। अशोक अधिकारीले वताए ।
परिवारजनले क्षतिपूर्ति र कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए । मध्य राति उपचार खर्च मिनाहा र ५ लाख रुपैयाँ अस्पताल पक्षले क्षतिपूर्ति दिने सहमतिपश्चात् आफन्तजनले शव बुझेको मृतकका जेठान पर्ने दीपक पटेलले बताए ।
अचानक अत्यधिक पेट दुखेपछि आइतबार बिहान १० बजे पपुलाई अस्पताल भर्ना गरिएको थियो । भर्ना भएकै बेलादेखि समयसमयमा चिकित्सक तथा नर्सले बेवास्ता गरेको र यहीँ ठीक हुन्छ भन्दै बाहिर लैजान नदिँदा मृत्यु भएको आफन्तजनको आरोप छ।
अस्पतालका इन्चार्ज सुशीलकुमार साहले उपचारमा कुनै प्रकारको लापर्बाही नभएको दाबी गरे । उनका अनुसार बिरामीलाई अत्यधिक पेट दुख्ने पेन्टाइटिस थियो । ‘बिरामी भर्ना हुनेबेला नै सिरियस थिए । चार÷पाँचवटा पेनकिलर दिएपछि मात्र दुखाइ कम भएको थियो । समयसमयमा चिकित्सकले रेखदेख, औषधि उपचार चलाएकै थियो । अब बिरामीको मृत्यु कसरी भयो भन्न सकिन्न,’ उनले भने ।
धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले आपसी सहमतिमा परिवारजनले शव बुझेको बताए ।
जनकपुरमा अस्पतालको लापर्बाहीले मृत्यु भएपछि परिवारजनले भने लासमा पैसा बार्गेनिङ गर्दै आएका छन् । छानबिन गरी अस्पताललाई कारबाहीको दायरामा नल्याउँदा लापर्बाही गर्ने र सर्वसाधारणको ज्यान जाने क्रम जारी रहेको रहेको आजको राजधानी दैनिकमा खवर छ ।