काठमाण्डौ, असार २१ । आजदेखि काठमाण्डौको रत्नपार्क हुँदै ललितपुरको लेलेसम्म साझा बस चल्ने भएको छ । साझा यातायातले सेवा विस्तार गर्दै आजदेखि रत्नपार्क – लेले रुटमा गाडी चलाउन थालेको हो ।
अहिले डिजेलबाट चल्ने चार वटा गाडीलाई यो रुटमा हालेको साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए। उनका अनुसार यो रुटमा बिहान ६ बजेदेखि बेलुका सात बजेसम्म साझाका गाडी चल्ने छन् ।
साझाका गाडी रत्नपार्क, पुरानो बसपार्क, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, चापागाउँ–थेचो–सुनाकोठी हुँदै लेले पुग्ने छन् । लेलेबाट छुट्ने गाडी पनि यही रुट अनुसार चल्ने छन् । ललितपुरको गोदावरीमा चार्जिङ स्टेशन बनेपछि यो रुटमा विद्युतीय गाडी चलाउने तयारी भएको महाप्रबन्धक पाण्डेले बताए।