Logo

किन पोखराबाट लेखनाथ टुक्र्याउन खोजिँदै छ ?



पोखरा, असार २२ । लेखनाथ नगरपालिका पुनस्र्थापना माग गर्दै लेखनाथवासीले हस्ताक्षर अभियान सुरु गरेका छन् । लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवस अवसरमा बुधबार आयोजित समारोहबीच सो हस्ताक्षर अभियान सुरु भएको हो । संघ स्थापना दिवस अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पनि उपस्थिति थियो । उनकै सामुन्ने लेखनाथवासीले अभियान सुरु गरेका हुन् ।

पोखरा महानगरपालिकाबाट छुट्याएर साबिकको लेखनाथ नगरपालिका पुनस्र्थापनाको माग गर्दै आफूहरूले अभियान सुरु गरेको सो अभियानका एक सदस्य सन्दीप पौडेलले बताए ।

विकास निर्माण तथा बजेटमा पोखरा महानगरपालिकाले लेखनाथ क्षेत्रलाई सधैं पछि पारेकाले आफूहरू साबिकको लेखनाथ पुनस्र्थापनाको मागसहित अघि बढेको उनी बताउँछन् । पोखरा महानगरमा गाभिएपछि स्रोत, जनसंख्या र भूगोलको आधारमा बजेट एवं कार्यक्रममा पटकपटक चरम बेवास्ता गरिएको र पछिल्लो समय लेखनाथलाई डम्पिङ साइट बनाइएको लेखनाथवासीको गुनासो छ ।

पोखरा महानगरपालिका बनेपछि सात तालको वाटिका भनेर चिनिने लेखनाथ उपेक्षामा पर्न थालेको लेखनाथवासीको सधंैको गुनासो रहँदै आएको छ । लेखनाथलाई छुट्टै पालिका बनाउन सके यहाँका तालहरूको संरक्षण, पर्यटन प्रवद्र्धन र योजनाबद्ध विकास निर्माण हुन सक्ने उनीहरू बताउँछन् ।

लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष छत्रधर आत्रेयले पनि विगतमा लेखनाथ नगरपालिकाको नामबाट चिनिएकोमा महानगरमा गाभिएपछि पोखरा महानगर त बन्यो तर विकास, बजेट र कार्यक्रममा पछि परेको बताउँछन् । उनले महानगर भइसकेपछि जुनरूपमा विकास निर्माणको लागि योजना पर्नुपर्ने हो त्यसअनुसार पर्न नसकेकोले अभियान जाजय रहेको बताए । लेखनाथवासीले विगतका फोरममा पनि यसखालको माग राख्दै आएको उनले स्मरण गरे ।

लेखनाथ नगरपालिका पुनस्र्थापना अभियानमा १ लाख हस्ताक्षर संकलन गर्ने लक्ष्य छ । पहिलो दिन करिब ३ हजार हस्ताक्षर संकलन भएको जनाइएको छ । हस्ताक्षर संकलन अभियान प्रत्येक शनिबार विभिन्न चोकचोकमा हुनेछ । यसअघि पनि पटकपटक लेखनाथलाई छुट्टै पालिका बनाउन माग गर्दै उनीहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेका थिए । पोखराबाट लेखनाथलाई छुट्याएर लेखनाथ नगरपालिका बनाउने अभियानमा उद्योग वाणिज्य संघले नेतृत्वमा रहेको छ । संघका बहुसंख्यक सदस्य महानगरबाट लेखनाथ टुक्र्याउनुपर्ने बताउँछन् ।

विगतमा भरतपोखरी सिंगो गाविस थियो । वडा ३३ मा अन्तर्गत पर्ने भरतपोखरी पोखरा महानगरपालिकामा गाभिएको हो । यो वडा क्षेत्रफल हिसाबले पनि ठूलो छ । पोखराको न्युरोड र भरतपोखरी समान आँखाले हेरिनुपर्ने अभियन्ताको माग छ । साथै लेखनाथ क्षेत्रको छिमेकी रुपा गाउँपालिकाको बर्सेनि ठूलो परिणामको बजेट पेस गर्दा लेखनाथलाई पोखरा महानगरेले ओझेल पारेकोले टुक्रिनुपर्ने लेखनाथवासीको माग छ ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्