Logo

स्रोतले सम्पन्न तर गरिब प्रदेश ‘मधेस’



जनकपुरधाम, असार २२ । मधेस प्रदेशको महत्वपूर्ण उत्पादन खाद्यान्न (धान र गहुँ) हो। खाद्यान्न उत्पादनको मूलस्रोत भएकाले देशका अन्य भागभन्दा मधेस प्रदेश स्रोतका हिसाबले समृद्ध छ। तर बहुआयामिक गरिबीको सूचकांकका सबै पक्षहरूमा मधेस प्रदेशलाई समग्र राष्ट्रिय अवस्थाभन्दा चिन्ताजनक अवस्थामा देखाउँछ। मधेस प्रदेशका गाउँ(बस्तीको अवस्था हेर्दा अधिकांश क्षेत्रमा समृद्धिको छेकछन्द कतै पाइँदैन।

तथापि यहाँ समृद्धिका सूचकहरू प्रशस्त छन्। कृषिमा उर्वरता, विविध भाषा(संस्कृतिमा सम्पन्नता, भौगोलिक सुगमता आदि। यी सूचकका आधारमा हेर्दा मधेस सम्पन्नताको उकालो चढ्नुपर्ने हो। तर भइरहेछ ठिक उल्टो, यात्रा थप गरिबीतर्फ उन्मुख छ। मधेसको इतिहास सम्पन्न भए पनि पछिल्ला दशकहरू अजेन्डाविहीन भएकाले विपन्नता र गरिबी बढ्दै गएको बुद्धिजीवीहरू बताउँछन्।

यहाँ नेता धेरै जन्मिए। मन्त्री धेरै भए। तर यी सबैले राजनीतिक अजेन्डालाई मात्र प्राथमिकता दिए। कसैले पनि आर्थिक अजेन्डा अगाडि सार्न सकेनन्। राजनीतिक अजेन्डाका कारण आन्दोलन धेरै भए। तर आर्थिक विकासका लागि कहिल्यै आन्दोलन भएन। मधेस मामिलाका जानकार रजनिकान्त झा भन्छन्, ‘मधेसमा पर्याप्त स्रोत हुँदा पनि गरिब हुनु बिडम्बना हो।’ यहाँ नेताहरूले आर्थिक विकास, स्रोत परिचालन, समृद्धिलाई प्राथमिक अजेन्डा नबनाउँदा मधेस गरिबीको दलदलमा भासिँदै गएको उनको टिप्पणी छ।

मधेसमा कृषिमा पर्याप्त सम्भावना छ। तर कृषिमा आधुनिक प्रणाली तथा औद्योगिकीकरण छैन। कृषि उत्पादनका लागि उर्वर जमिनको उत्पादकत्व बढाउन किसानमैत्री नीति तथा कार्यक्रम ल्याउन प्रदेश सरकार चुकेको छ।

सिँचाइका पुराना योजना जीर्ण बनेका छन्। नयाँ आउन सकेका छैनन्। भौगोलिक अवस्थिति र समथर भूमिले गर्दा मधेस उद्योग–कलकारखानाका लागि उपयुक्त भूभाग हो। तर उद्योग भित्र्याउन सरकार सफल हुन सकेको छैन। भारतसंँग सीमा जोडिएकाले कच्चा पदार्थ आयात र उद्योगका उत्पादन निर्यातका लागि यो भूमि सहज छ। कृषिमा आधारित उद्योगको सम्भावना बढी छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्