काठमाडौं, २२ असार । आम जनता पार्टीका अध्यक्ष, पूर्वमन्त्री तथा सांसद प्रभु साहले देश सबै हिसाबले संकटमा परेको भन्दै बचाउनको लागि अब अग्रगामी मोर्चा बनाउनुपर्ने आवश्यकत्ता औंल्याएका छन् ।
आज (शुक्रबार) पार्टीको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले देश बचाउनको लागि विचार मिल्नेहरुको मोर्चा बनाउन विलम्ब गर्न नहुने धारणा राखेका हुन् । साह सत्ता गठबन्धनमा छन् । तर, उनले सरकारले लिने गलत निर्णय र चाल्ने गलत कदमको भने खुलेर आलोचना गर्ने गरेका छन् । उनले देश नै अहिले बर्बाद भएको गुनासो पोखे ।
उनले देशका युवा विद्यार्थीले नै देशमा आफ्नो भविष्य नदेखेको र विदेशिन बाध्य भएको डरलाग्दो अवस्था सुनाए । उनले मुलुकलाई यो अवस्थामा पुर्याउनको लागि ठूला दलका ठूला नेताहरु नै मुख्य रुपमा जिम्मेवार रहेको भन्दै उनीहरुसँग जनताले हिसाब खोज्ने बेला आएको बताए ।
उनले नेपालमा सुशासन र भ्रष्टाचारको विरुद्धमा ठूला ठूला भाषण गर्नेहरुले नै आफ्ना सन्ततीलाई विदेशका महँगा विश्वविद्यालयमा पढाएको कुरा आफूहरुको जानकारीमा रहेको सुनाए । उनले सबै नेताका छोराछोरी कहाँ पढ्छन् ? भन्ने कुरा सत्य, तथ्य बाहिर ल्याउनुपर्ने बेला आएको पनि बताए ।
उनले अहिले राजनीतिक विकृति पनि मौलाएको सुनाए । त्यसको पछिल्लो उदाहरण भनेको स्थानीय तहको नेतृत्वमा चुनाव लड्नेहरु काठमाडौंमा बस्ने गरेको उनको भनाई छ । उनले मुलुकमा गठबन्धनको राजनीतिले निकास नदिने जिकिर गरे । उनले गठबन्धनको राजनीति नै विकृत रुप भएकोले आफूहरु देशको हितमा केन्द्रित भएको स्पष्ट पारे ।
उनले देशमा लोकतन्त्र नभएर दलतन्त्र हाबी भएको आरोप लगाए । उनले वितगमा मानिसहरु पैसा कमाउनको लागि व्यापार र व्यवसाय गर्ने गरेको इतिहास स्मरण गराउँदै अहिले भने राजनीतिलाई कमाउने माध्यम बनाईएको आरोप लगाए । राज्यको चरित्र नै अहिले लुटकारी भएको उनको गम्भीर आरोप छ ।
उनले यसमा आमूल परिवर्तनको लागि नै आफूहरुले जोखिम मोलेर नयाँ दल खोलेर जनताको बीचमा गएको विश्वास दिलाए । उनले आफू देशलाई अस्थिरताको शिकार हुन नदिनको लागि सुरुदेखि नै चिन्तित रहेको सुनाए ।
उनले अहिले देशमा लोककल्याणकारी राज्य नभएर कम्पनीजस्तो भएको आरोप लगाए । नेपालमा ०६३ साल यता कम्युनिष्टबिनाको सरकार नै नभएको स्मरण गराउँदै अहिले कांग्रेस र कम्युनिष्टबीच कुनै फरक नै नभएको उनको भनाई छ ।
अहिले शीर्ष नेताहरु मिलिजुली लुट्न अभ्यस्त भएको उनको गम्भीर आरोप थियो । उनले दलका नेताहरु र आसेपासेहरु शासक बनेको र जनता सबै शासित भएको बताए ।