Logo

दुई वर्षपछि मेलम्चीमा बेलिब्रिज



सिन्धुपाल्चोक, असार २३। सिन्धुपाल्चोकका चार स्थानीय तहलाई जोड्ने पक्की पुल बाढीले बगाएको २५ महिनापछि बल्ल बेलिब्रिज निर्माण भएको छ। नेपाली सेनाले इन्द्रावती नदीको मेलम्ची बजारमा निर्माण गरेको ‘बेलिब्रिज’ को शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले उद्घाटन गरे।

पुल उद्घाटन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले बाढीपहिरोले पुल बगाएपछि त्यहाँका स्थानीयले धेरै सास्ती बेहोरिरहेको अवस्थामा नेपाली सेनाको सहयोगमा मेलम्चीमा निर्माण थालेको छोटो समयमै बेलिब्रिज तयार भएकोमा खुसी व्यक्त गरे। नेपाली सेनाले ४० लाख रुपियाँको लागतमा ३० दिनमा सो बेलिब्रिज निर्माण गरेको थियो।

लामो समयदेखि बेलिब्रिज निर्माणमा राजनीतिक दलको आन्तरिक किचलोका कारण दुई वर्षसम्म पुल बन्न सकेको थिएन। नेपाली सेनाले समयमै काम सम्पन्न गर्ने विश्वास बोकेर स्वास्थ्यमन्त्रीले नेपाली सेनाका प्रधान सेनापतिलगायत उच्च अधिकारीलाई भेटेर समयमै पुल बनाइदिन आग्रह गरेपछि सो पुलको निर्माण समयमै भएको उल्लेख गरे।

नेपाली सेनाले जनतालाई प्राकृतिक विपत्तिका बेला गरेको सहयोगको स्मरण गर्दै उनले जनताको चाहना र बर्खाभन्दा अघि बनाउनुपर्ने आवश्यकता भएकाले समयमै काम सम्पन्न गरेकोमा आभार व्यक्त गरे। प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाले जनताको विश्वासले सदैव जनताको सेवामा लागिरहने बताए। नेपाली जनताको सुखदुःखमा सेनाले साथ दिँदै आइरहेको बताउँदै मेलम्ची बेलिब्रिज निर्माण पनि यसकै एक ज्वलन्त उदाहरण भएको उल्लेख गरे। उनले नेपाली सेना जनताको साझा सम्पत्ति भएको बताउँदै सेनाले सधैँ जनताको सर्वोपरि हितलाई ध्यानमा राखेर काम गरिरहेकोमा जोड दिए।

बागमती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङले अथक प्रयास र दृढ सङ्कल्पका कारण मेलम्ची बेलिब्रिज समयमै सम्पन्न भएकोमा जोड दिँदै नेपाली सेनाको सहयोग स्मरणीय रहेको बताए।

अघिल्ला दुईवटा बर्खामा दुःख झेलेका स्थानीयले पुल बनेपछि निकै खुसी भएको जनाएका छन्। अघिल्लो बर्खामा पुल नभएपछि खोलाको जँघार तर्न नसकेर आफन्त बितेको समयमा भेट्न जान नपाएका छिरिङ लामाले पुल बनेपछि वारि र पारिको सम्बन्धविच्छेद हुने अवस्थाको अन्त्य भएको बताए। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot