Logo

सर्वसाधारणको पैसा फिर्ता नगर्ने घोराहीले चाल्यो प्रपञ्च



काठमाडौं, असार २३ । घोराही सिमेन्ट इन्डष्ट्रीले नेपाल धितोपत्र बोर्डले दिएको सुविधाको लुप होल प्रयोग गर्दै सर्वसाधारणको पैसा फिर्ता नदिने प्रपञ्च रचेको छ । सर्वसाधारणले चाहेमा ३ दिन म्याद राखेर पैसा फिर्ता दिनुपर्ने बोर्डको निर्णयलाई घोराहीले लत्याउँदै पैसा फिर्ता नदिन झञ्झटिलो प्रावधान राखेको हो ।

आपसी मिलेमतोमा स्वार्थ समूहले सर्वसाधारणलाई झुक्याउँदै डुब्न डुब्न लागेको कम्पनीको प्रिमियम शुल्कमा अधिक मुल्य राखेर जारी गरेको आइपीओमा फर्जी खरिदकर्ता पैदा गरेर चलखेल भएपछि धितोपत्र बोर्डले आइपीओ स्थगन गरि दिएको थियो ।

केही समय अनुसन्धान गरेको देखाउँदै बोर्डले ३ दिन मौका दिनु भनेर दिएको निर्देशनलाई घोराहीले सार्वजनिक विदाको दिन पारेर पैसा फिर्ता लिन शुक्रवार सार्वजनिक सूचना निकालेको छ ।

शनिवार सार्वजनिक विदा परेको दिनमा त्यो पनि बैंकमा नै गएर पैसा फिर्ता लिनुपर्ने झन्झटिलो प्रावधान राखेर घोराहीले सर्वसाधारणको पैसा ट्रयापमा पार्न खोजेको आरोप लागेको छ ।

आइपीओ भर्दा खेरि अनलाइन र डिजिटल प्रविधि अपनाउन दिएको घोराही सिमेन्टले बैंकमा नै भौतिक रुपमा उपस्थित हुनुपर्ने र निवेदन लेखेर दिनुपर्ने प्रावधान राखेको छ ।

आइतवार एक दिनमा ३ अर्ब भन्दा वढी रकम निकाल्न नसकिने अवस्था रहेको हुँदा घोराहीले सर्वसाधारणको रकम फसाउने नियत राखेको स्पष्ट भएको एक पीडितले बताए ।

डुब्न स्थितिमा रहेको घोराही सिमेन्ट कम्पनीलाई उकास्नका लागि शंकास्पद रेटिङ गरेको कम्पनी केयर रेटिङ नेपाल लिमिटेडमाथि कुनै छानविन नगरी घोराहीलाई ७ दिन पुनः शेयर निष्काशन गर्ने अनुमति र ३ दिन पैसा फिर्ता दिने म्याद दिने धितोपत्र बोर्डको निर्णय नै शंकास्पद देखिएको विज्ञहरु बताउँछन् ।
घोराहीलाई सजिलो र लुप होल दिएर बोर्डका अध्यक्ष अमेरिका गएपछि यसलाई शंकाको नजरमा हेरिएको हो ।

कम्पनीको वित्तीय विवरण नै शंकास्पद रहेको र त्यही शंकास्पद विवरण आधार मानेर आफ्नै लगानी रहेको केयर रेटिङ्ग नेपालबाट रेटिङ गराएको र दोस्रो बजारमा आउने वित्तिकै ३ सय रुपैयाँमा पनि कारोवार हुन नसक्ने घोराही सिमेन्टबाट सर्वसाधारणको २ अर्ब डुब्ने लगभग पक्कापक्की रहेको बुझाइ लगानीकर्ताहरुको छ । विवादको घेरामा र स्वार्थ समूहको चंगुलमा फसेको घोराही सिमेन्टको मूल्य प्रिमियम मूल्यभन्दा आधा घट्ने आंकलन रहेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्