काठमाडौं, असार २३। काठमाडौं महानगरपालिका क्षेत्रभित्र छात्रावास सञ्चालन गर्न अब महानगरसँग अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान लागू भएको छ ।
काठमाडौं महानागरपालिकाले जारी गरेको छात्रावास (होस्टल) सञ्चालनसम्बन्धी मापदण्ड, २०८० मा छात्रावास सञ्चालनका लागि पूर्वस्वीकृति अनिवार्य गरेको छ । छात्रावासलाई व्यवस्थित, मर्यादित, सुरक्षित र पारदर्शी बनाउने उद्देश्यले मापदण्ड ल्याएको महानगरले जनाएको छ ।
छात्रावासमा बस्ने छात्रछात्रा तथा सञ्चालकको अधिकतम हितलाई सुनिश्चित गर्न तथा छात्रावास व्यवसायीको हकहित र पेसागत मर्यादा कायम गर्न गराउन वाञ्छनीय भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ कोे व्यवस्थासमेतलाई आधार मानी महानगरपालिका प्रशासकीय कार्यविधि (नियमित) गर्ने ऐन, २०७५ को दफा ४ बमोजिम नगर कार्यपालिकाले यो मापदण्ड बनाइएको उल्लेख गरिएको छ ।
स्वीकृतिका लागि विस्तृत कार्ययोजनसहितको प्रस्ताव र प्रतिबद्धता पेस गर्नुपर्ने उल्लेख छ । त्यस्तै, छात्रावास सञ्चालन गर्ने क्षेत्रको वडा कार्यालयको सिफारिसपत्र, छात्रावास सञ्चालक÷वार्डेनको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, छात्रावास सञ्चालन गर्ने भवनको नक्सा र नक्सापास प्रमाणपत्र वा निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्ने उल्लेख छ ।
छात्रावास सञ्चालन गर्ने घर (आफ्नो भएमा जग्गाधनी प्रमाणपुर्जा) र भाडामा लिइएको भए घरबहाल सम्झौतापत्रको प्रतिलिपि, छात्रावास सञ्चालन गर्न अनुमति लिन चाहने व्यक्तिले महानागरपालिकाको शिक्षा विभागमा निवेदन दिनुपर्ने छ ।
छात्रावासमा न्यूनतम भौतिक पूर्वाधार शौचालय, भान्साघर, पानी आपूर्ति, विद्युत् आपूर्ति, फोहोरमैला व्यवस्थापनको सुविधा र छात्रावास परिसरमा उचित सरसफाइको व्यवस्था गर्नुपर्ने उल्लेख छ । छात्रावासको अनुगमनका लागि महानगरपालिकाका उपप्रमुख संयोजक रहेको आठ सदस्यीय समिति रहेन भएको छ । राजधानी दैनिकबाट