Logo

एमालेको चाहना सत्ता हो कि संसद् विघटन ?



काठमाडौं, २३ असार । नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्न आफ्नो पार्टी बाध्य भएको बताएका छन् ।
‘हामीले बिना कारण प्रधानमन्त्रीको राजीनामाका लागि दबाब सिर्जना गरेका होइनौं । उहाँ आफैं बिना प्रसंग र बिना सन्दर्भ देशको शिर निहुरिने काम गर्नुभएको छ । उहाँलाई प्रधानमन्त्री हुन प्रीतम सिंह नामक भारतीय नागरिकले सघाएको र दिल्ली दौडेको कुराले उहाँ विदेशीको कठपुतली हो भन्ने उहाँ आफैंले पुष्टि र प्रमाणित गर्नुभएको हो । यो बहुमत र अल्पमतको कुरा भन्दा पनि राष्ट्रियता, सार्वभौमसत्ता र संसदको घोर अपमान हो । त्यसैले हामी उहाँको राजीनामा माग्न बाध्य भयौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
प्रीतम सिंहले त यो संविधानसभाको निर्वाचन अघिको कुरा हो भनिरहनुभएको छ नि भन्ने भन्ने प्रश्नमा रिजालले भने, ‘१५–२० वर्षअघिको फरार अपराधी पनि प्रहरीले पक्राउ गर्छ नि । यस्तो कुरा जहिले थाहा हुन्छ, तहिले कारबाही हुन्छ । पहिलेकै हो भने प्रचण्डले हामीलाई भ्रम दिन नागरिक सर्वोच्चताका लागि भनेर आन्दोलन गर्ने अनि भित्रभित्रै भारतीय परिचालन गरेर प्रधानमन्त्री हुने कुरा त आउँदैन नि ।’
रिजालले अयोग्य, अक्षम र राष्ट्रघाती व्यक्ति मुलुकको प्रचण्ड प्रधानमन्त्री हुन नमिल्ने पार्टीको ठहर रहेको पनि बताए । उनले भने, ‘भ्रष्टाचार विरुद्धको कारबाही रोक्न राजीनामाको माग भएको भन्नु उहाँको नितान्त कायरता हो । उहाँ कस्तो मानिसको घरमा बस्नुहुन्छ, कस्तो घेरामा बस्नहुुन्छ भन्ने हामीलाई थाहा छैन र ? उहाँले अख्तियार र सीबीआईले गरेको नियमित काममा उहाँले हस्तक्षेप नगरिदिए पुग्छ । अहिले उहाँले संवैधानिक निकायलाई रक्षाकवचको रुपमा प्रयोग गर्नुभएको हो ।’
उनले प्रधानमन्त्री प्रचण्डलाई जवाफदेही बनाउन एमालेले राजीनामा मागेको पनि स्पष्ट पारे । उनले भने, ‘उहाँले अहिले किन म भारतीय कठपुतली हुँ भन्नुपर् यो ? यो हामीले आरोप लगाएको हो र ? हामीले उहाँ आफैंले बोलेका कुरामा जवाफदेही बनाउन खोजेको हो । दिल्ली भन्ने हाम्रो संविधानमा उल्लेख छ ? दिल्ली ओहदाको प्रमाणचिह्न बुझाउने ठाउँ हो ? नेपाल सेटेलाइट स्टेट त होइन नि ?’
एमालेको चाहना सत्तामा जाने हो कि संसद विघटन गर्ने हो भन्ने अर्को प्रश्नमा रिजालले भने, ‘प्रचण्डले राजीनामा दिँदैमा हामी कुदेर बस्ने त होइन नि । एमाले जिम्मेवार राजनीतिक दल हो । गठबन्धनकै अर्को प्रधानमन्त्री बन्ला । प्रचण्ड प्रधानमन्त्री नहुँदैमा पद खाली हुने त होइन नि । जबसम्म यो विषय टुंगो लाग्दैन, तबसम्म संसद अवरोध गरिरहन्छौं । एमालेले जायज विषय उठाएर संसद अवरोध गर्दा अनेक फत्तुर लगाउनु संसदीय संघर्षको ज्ञानको वेबास्ता हो ।’
कोसी प्रदेशमा सभामुखले तटस्थ भूमिका बिर्सेर दलको सांसदको रुपमा हस्ताक्षर गरी संविधानको खिलाफमा गएकाले अदालतमा जानुपरेको पनि उनले स्पष्ट पारे ।

 



प्रतिक्रिया दिनुहोस्