काठमाडौं, २३ असार । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टी सभापति शेरबहादुर देउवाकै चाहनामा जिल्ला सभापतिहरुको बैठक भएको बताएका छन् ।
‘जिल्ला सभापतिहरुको बैठक गर्ने पार्टी सभापतिको चाहना थियो, नभएको होइन । त्यस अनुसार नेपाली कांग्रेस कन्द्रीय कार्यालयको आयोजना र महामन्त्रीद्वयको संयोजनमा भएको बैठक भएको हो । जिल्ला सभापतिहरुको १४ बुँदे प्रतिबद्धता स्वाभाविक छ र त्यसलाई पार्टी सभापतिले सकारात्मक रुपमा लिनुभएको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
जिल्ला सभापतिहरुले केन्द्रीय सभापतिलाई मात्र नभएर तलदेखि माथिसम्मका सबै नेता कार्यकर्ताको आचरण, कार्यशैली र प्रवृत्ति नबदलिएसम्म कांग्रेस नबदलिने बताएको पनि विश्वकर्माको जिकिर छ । उनले भने, ‘जिल्ला सभापतिहरुको बैठकमा पार्टी सभापति हुनुहुन्थेन । त्यसैले उहाँलाई नै भनेको होला भन्ने कुरा मनगणन्ते हो । त्यो भनेको वडादेखि केन्द्रीय सभापतिसम्मका सबै नेताहरुका लागि भनिएको हो ।’ जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष पार्टी निर्माणका लागि महत्त्वपूर्ण भएकाले नेतृत्वबाट रचनात्मक रुपमा सदुपयोग हुने विश्वास पनि उनले व्यक्त गरे ।
नेपाली कांग्रेसलाई भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाउनु हास्यास्पद भएको पनि उनले बताए । विश्वकर्माले भने, ‘कांग्रेसले कुन ठाउँमा भ्रष्टाचारलाई जोगाउनुपर्छ भनेको छ ? न संसदमा, न सडकमा, न त अड्डा अदालतमा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग २०५६ मा बनाएकै हाम्रा सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बनेको हो । पछि हाम्रै पार्टीका नेताहरुलाई विभिन्न षडयन्त्र गरेर पीडित बनाइयो । अरु पार्टी त भ्रष्टाचारको कुरा उठ्न पाएको हुँदैन, सडकमा प्रदर्शन र संसद् अवरोध गर्छन् । कांग्रेस भ्रष्टाचारमुक्त मुलुक चाहन्छ ।’
पार्टी केन्द्रीय समितिको असार २७ गतेमा सुरु हुने बैठकबाट पार्टी र सरकारबीच समन्वयको निर्णय हुने पनि उनले बताए । साथै विश्वकर्माले चुनावमा असहयोग गर्नेलाई कारबाही गर्न प्राविधिक रुपमा समस्या रहेको पनि औंल्याए । उनले थपे, ‘कांग्रेस एक्लै लडेको भए अनुशानको कारबाही गर्न समस्या थिएन । गठबन्धन गरेर लडेका कारण धेरै साथीहरुले असन्तुष्टि पोख्दै अनुशासन उल्लंघन गरेको देखिन्छ । यसमा सभापति उदार भएको होइन ।’
नेता विश्वकर्माले पार्टी सभापति सभापति देउवा समन्वयकारी, सहनशील र धैर्यवान् नेता भएको पनि दाबी गरे । उनले भने, ‘हाम्रा पार्टी सभापति कम बोल्नुहुन्छ, धेरै काम गर्नुहुन्छ । धेरै बोल्ने मान्छेले नबोल्ने सभापतिलाई दोषारोपण गरे । उहाँले एकलौटी गरेको भए पार्टीका गर्नुपर्ने काम गर्न १८ महिना किन लाग्थ्यो र ? उहाँ समन्वयकारी, सहनशील र धैर्यवान् हुनुहुन्छ । कसैको प्रतिवाद गर्दै हिँड्नुहुन्न ।’
कोसी प्रदेशको सरकार निर्माणमा सभामुखको हस्ताक्षर रहर नभई बाध्यता भएको पनि विश्वकर्माले बताए । उनले भने, ‘कोसी प्रदेशमा पहिले पनि सभामुखकै हस्ताक्षरमा सरकार बनेको थियो । अहिले पनि उहाँले असल मनासयबाट नै गर्नुभएको हो । उहाँको हस्ताक्षरले सरकार भत्कने होइन, बन्ने होइन । यो उहाँको व्यक्तिगत रहर होइन बाध्यता हो ।’