Logo

मन्त्री यादवको दाबी : भारतसँग नेपालको ९८ प्रतिशत सिमा विवाद समाधान भैसक्यो (भिडिओसहित)



काठमाडौं, २३ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा खानेपानी मन्त्री महिन्द्र राय यादवले वर्तमान सरकारले देशका विद्यमान सबैखाले समस्याको हल गर्नतर्फ अग्रसर रहेको बताएका छन् । उनले भ्रष्टाचारमा मुछिएका जो/कोहीलाई पनि कानूनी कारबाही गरिने बताए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री यादवले नेपाल र भारतबीच रहेका सबैखाले सिमा विवाद समाधान गरिने पनि विश्वास दिलाए ।

उनले भने,‘सिमा विवाद समाधान गर्न भारत र नेपाल दुवै देश तयार छन् । वार्ता र कुटनीतिक माध्यमबाट यसलाई हल गर्नुपर्छ । जुन यसपालिको प्रधानमन्त्रीको भारत भ्रमणले सकारात्मक सन्देश दिएको छ ।’

उनले चीनबाट पनि नेपाली भूमि मिचिएको भए सरकारी प्रतिवेदनअनुसार अघि बढ्नुपर्नेमा जोड दिए । पत्रकार धमलाले नेपालमा चिनियाँ हस्तक्षेप बढेको हो ? भनेर सोधेको प्रश्नमा उनले भने–‘हामी आफ्नै कारणले मिल्छौं अनि आफ्नै कारणले अलग हुन्छौं ।’

मन्त्री यादवले प्रधानमन्त्री दाहालको हालैको भारत भ्रमण ऐतिहासिक रुपमा सफल भएको दाबी गरे । मन्त्री यादवले नेपाल र भारतबीच ९८ प्रतिशत सिमा विवाद समाधान भैसकेको दाबी गरे । अब बाँकी रहेको २ प्रतिशत विवाद पनि वार्ता तथा छलफलको माध्यमबाट हल गरिने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot