Logo

माधव नेपाल तनावमुक्त हुँदै, मोर्चा गठनपछि पहिलो बैठक आफ्नै पार्टी मुख्यालयमा



काठमाडौं, २३ असार । चार दलको सहभागितामा बनेको समाजवादी मोर्चा नेपालको पहिलो बैठक आज बसेको छ । समाजवादी मोर्चा घोषणा पनि आश्चर्यचकित रुपमा भएको थियो । धेरैले समाजवादी मोर्चा घोषणा भएपनि केही समय लाग्ला भन्ने चर्चा थियो । तर, सोचेको भन्दा धेरै नै पहिले मोर्चा गठन भएपछि यसको खोजिनिधी सुरु भएको थियो ।

खासगरी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा पहिरो जान थालेपछि त्यसलाई रोकथाम गर्नको लागि नै मोर्चा गठन गरिएको चर्चा छ । पछिल्लो समय नेकपा (एकीकृत समाजवादी) बाट एमाले फर्किने नेताहरुको लर्को लाग्ने गरेको छ । त्यसलाई रोक्नको लागि नै माधव नेपालले हतार गरेर मोर्चा गठन गर्न लगाएका हुन् ।

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि मोर्चा घोषणा गर्नमा सबैभन्दा ठूलो हात माधव नेपालको रहेको सार्वजनिक रुपमै बताइसकेका छन् । माधव नेपाल यही गठबन्धनबाट एक वर्षको लागि प्रधानमन्त्री बन्ने सहमति छ ।

माधव नेपालले मोर्चा हुँदै नेकपाकालिन अवस्थामा पुगिने भन्दै कार्यकर्ताहरुलाई पार्टीमै अड्याउने जुक्ति निकालेका छन् । अहिले मोर्चा गठन भएपछि भने माधव नेपालले केही राहतको महशुस गरेको पाईएको छ ।

आज भोलिभित्रै सर्लाही र सिरहाका प्रभावशाली नेताहरुले पार्टी छोड्ने तयारी गरेपछि नेपालले मोर्चाको आज बसेको पहिलो बेठक पनि आफ्नै पार्टी मुख्यालयमा राखेका छन् ।

धेरैले मोर्चाको बैठक बस्दैछ भनेर समाचार तयार पार्दै गर्दा बैठक बालुवाटार वा सिंहदरबारमा बस्ने अनुमान गरेका थिए । तर, धेरैलाई आश्चर्य लाग्नेगरि मोर्चाको पहिलो बैठक भने एकीकृत समाजवादीको मुख्यालयमा बसेको छ ।



प्रतिक्रिया दिनुहोस्