Logo

पाकिस्तानमा अविरल वर्षापछि बाढी, पहिरो र डुबानमापरि ६७ जनाको मृत्यु, १ सय २५ घाइते



काठमाडौं, २३ असार । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार पाकिस्तानमा प्रि–मनसुन सुरु भएयता वर्षाका कारण भएका छुट्टाछुट्टै दुर्घटनामा परी ६७ जनाको मृत्यु हुनुका साथै १२५ जना घाइते भएका छन्।

देशको पूर्वी पञ्जाब प्रान्तमा वर्षाका कारण सबैभन्दा बढी ४३ जनाको मृत्यु हुनुका साथै ८२ जना घाइते भएको र प्रान्तीय राजधानी लाहोरसहित प्रान्तमा आएको भारी वर्षाका कारण ३१ घर पनि भत्किएको एनडीएमएले जनाएको छ।

लाहोरका कार्यवाहक मुख्यमन्त्री मोहसिन नकवीले ‘अहिलेसम्मकै उच्च’ मानिएको लाहोरको वर्षाका कारण सहरको नगर क्षेत्रमा बाढी आएको र धेरै क्षेत्र जलमग्न भएका थिए र घण्टौंसम्म सडक यातायात अवरुद्ध भएको थियो।

पानी तथा सरसफाई निकायले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जुलाई ४ मा शहरका केही भागमा २९१ मिलिमिटरसम्म वर्षा भएको थियो।

बर्षा र डुबानका कारण नगर क्षेत्रमा केही घर भत्किएका थिए। लाहोरका आयुक्त मोहम्मद अली रन्धावाले विगत ३० वर्षदेखि शहरमा यति ठूलो वर्षा नभएको बताएका छन्।

देशको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा वर्षासँग सम्बन्धित छुट्टाछुट्टै दुर्घटनामा परी १८ जनाको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन्। रासस/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्

Screenshot