Logo

समाजवादी मोर्चा बनेपछि सबैभन्दा खुसी शेरबहादुरजी हुनुहुन्छ : माधव नेपाल



काठमाडौं, २४ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चा नेपाल गठनबाट राष्ट्रिय राजनीतिमा तरंग पैदा भएको बताएका छन् । साथै उनले मोर्चा बनेपछि नेपाली कांग्रेस एकदमै खुसी भएको दाबी गरे ।
‘समाजवादी मोर्चा गठनपछि नेपाली कांग्रेस संशकित भएको सत्य होइन । कांग्रेसका सभापति शेरबहादुरजी खुसी हुनुहुन्छ । मोर्चाको बैठक किन छिटो बस्दैन, किन सक्रिय हुँदैन भनिरहनुभएको छ । शेरबहादुरजी मात्र होइन, उहाँको टिमलाई मोर्चाबाट के नोक्सान हुन्छ र ? मोर्चाका विषयमा नेपाली कांग्रेससँग हाम्रो राम्रो समझदारी छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग नेपालले भने । उनले कांग्रेस भन्नेबित्तिकै वितृष्णा राख्नु नपर्ने र देशका हरेक महत्त्वपूर्ण परिवर्तनमा सहकार्य गरेको पनि स्मरण गरे ।
नेता नेपालले समाजवादी मोर्चा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहयोगी शक्ति भएको पनि बताए । उनले थपे, ‘नेपालमा २००८ साल, २०४६ र २०६२ मा पनि मोर्चा बनेका थिए । हामीसँग त्यसको अनुभव छ । हाम्रो मिसन सम्पूर्ण समाजवादी शक्तिलाई नेपाली नमुनाको समाजवाद निर्माणको दिशामा एकताबद्ध गर्ने हो । अहिले भएका मात्र होइन, बाँकी शक्तिलाई पनि समेट्ने हो ।’
साथै उनले पार्टी एकताका निम्ति समाजवादी मोर्चा निर्माण नगरेको दाबी गरे । नेपालले भने, ‘मिल्नु खुसीकै कुरा हो । हामी एकताबाट तर्सने र भाग्ने कुरा आउँदैन । तर समाजवादी मोर्चा पार्टी एकताका निम्ति बनाएको होइन । त्यो मिल्नुभन्दा अगाडि विचार र व्यवहार मिल्नुपर्छ । विश्वास र समझदारी बनाउनुपर्छ ।’
नेता नेपालले आफूहरु माओवाद भन्ने कुरामा सहमत नभएकाले पुरानो नेकपालाई ब्युँताृने पक्षमा रहेको पनि बताए । उनले भने, ‘नेकपा (माओवादी केन्द्र) सँग हाम्रो एकता हुन गाह्रो छ । हामी माओवाद भन्ने कुरामा सहमत छैनौं । बरु पुरानो नेकपा ब्युँताउने पक्षमा हामी उदार छौं । सहकार्य, कार्यगत एकता, मोर्चापछि मात्र एकताको वातावरण बन्न सक्छ ।’
केपी ओलीले समाजवादी मोर्चा र तपाईंलाई कटाक्ष गर्नुभएको छ नि भन्ने प्रश्नमा उनले भने, ‘व्यक्ति विशेषको नाम नलिनुस् । दुःख पाइस् मंगले आफ्नै ढंगले । अरुलाई धारे हात लगाउने हो कि आफ्नोमा गम्भीर कमजोरी छ भन्ने बुझ्ने हो ? अहंकार त्याग्नुहोस्, दिल विशाल बनाउनुस् । देश र जनतालाई ध्यानमा राख्नुस् । हाम्रो पहिलो काम आफ्नै पार्टीलाई बलियो बनाउने हो । अरुमाथिको निर्भरता काम लाग्दैन ।’
ललिता निवास प्रकरणमा आफूले कुनै बदमासी नगरको दाबी पनि पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको छ । उनले भने, ‘पूर्ववर्ती प्रचण्ड सरकारको बालुवाटार परिसरको विस्तार र भवन निर्माण सम्बन्धी निर्णयलाई हामीले अघि बढाएको हो । मैले त्यसमा कुनै अपराध र बदमासी गरेको छैन । कुनियत राखेर कुनै पनि काम गरेको छैन । एक पैसा लिएको छैन, एक दाम जग्गा पनि लिएको छैन । नबिराउनू नडराउनू ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot