काठमाडौं, २४ असार । समाजवादी मोर्चा नेपालका नेता एवं नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले नेपाल समाजवाद स्थापना हुने बाटोमा रहेको बताएका छन् ।
‘नेपालमा समाजवाद एकदमै लोकप्रिय छ । सबैजसो दलले यसलाई आत्मसात् गरेका छन् । हामी वैज्ञानिक समाजवाद भन्छौं । अरुहरुले राष्ट्रिय समाजवाद, संघीय समाजवाद, प्रजातान्त्रिक विवाद आदि भन्ने गरेका छन् । मूलतः विचार र नीतिका हिसाबले एकमत छ । समाजवादमा जानुपर्छ भन्ने कुरामा एकरुपता छ । समाजवाद नभए जनताले अधिकार पाउँदैनन् भन्ने बुझाइ छ । यसो भएपछि समाजवादलाई व्यवस्थामा बदल्न कुनै समस्या हुँदैन,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता चन्दले मुलुकको राजनीतिक स्थिरता र सबल अर्थतन्त्रको निर्माणका लागि समाजवाद नै एक मात्र बाटो भएको दाबी गरे । ६५ प्रतिशत कम्युनिस्टहरु र बीपी कोइरलाको समाजवाद भन्ने नेपाली कांग्रेसमा पनि मिलनविन्दु पहिल्याउन कठिन नहुने उनको धारणा छ ।