काठमाडौं, असार २४ । लामो समयदेखि अल्झिरहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई तीन महिनाभित्र अन्तिम रूप दिन नेपाल–भारतबीच सहमति भएको छ । पोखरामा शुक्रबार नेपाल भारतका बीचमा उक्त सहमति भएको हो । यो सहमति कार्यन्वयन भएमा अब पञ्चेश्वर अघि बढ्नेछ ।
पञ्चेश्वर विकास प्राधिकरणको सञ्चालक समिति (गभर्निङ बडी) को पोखरामा सम्पन्न आठौं बैठकमा आयोजनाका काम अघि बढाउने सहमति भएको हो । नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतको जलशक्ति मन्त्रालयका सचिव पंकज कुमारले सहमतिपत्रमा हस्ताक्षर गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको तीन महिनाभित्र डीपीआर टुंगो लगाउने प्रधानमन्त्री तहमा सहमति भएको थियो । उक्त सहमतिलाई यथाशीघ्र कार्यान्वयन गर्न दुई देशका सचिवको सह–अध्यक्षतामा बसेको बैठकले तीन बुँदे सहमति गरेको हो । यो सहमतिले अब पञ्चेश्वर अघि बढ्ने सकारात्मक सन्देश दिएको सरकारको दाबी छ ।
आयोजनाको डीपीआरलाई तीन महिनाभित्र अन्तिम रूप दिन एवं उक्त प्रतिवेदनको कार्यान्वयनमा सघाउ पु¥याउन दुवै देशको सरकारद्वारा गठित विज्ञ समूह (टिम अफ एक्सपर्ट्स अफिसियल) को म्याद ६ महिना थप गर्ने समेत सहमति भएको छ । गोरखापत्र दैनिकबाट