Logo

मादीका पहिरो विस्थापित परिवारलाई राहत प्रदान



कास्की, २४ असार । कास्की जिल्लाको मादी गाउँपालिकामा अबिरल वर्षापछिको पहिराले घरमा क्षति पुगेर विस्थापित परिवारलाई राहत प्रदान गरिएको छ ।

मादीको वडा नं ६ का पाँच र वडा नं २ का एक परिवारमध्ये दुई घर पूर्णरूपमा विस्थापित र अन्य जोखिममा परेका थिए । मादी गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले शनिबार प्रभावित परिवारलाई गाउँमै पुगेर राहत रकम प्रदान गरेका हुन् । पीडित परिवारलाई क्षतिका आधारमा गाउँपालिकाले दुई लाख पाँच हजार र जिल्ला प्रशासनले रु एक लाख राहत वितरण गरेको छ ।

यही असार १९ गतेको अबिरल वर्षाले मादी–६ को काहुँखोला–दूधपोखरी सडकको दोस्रो खण्डमा सजुक भेडीखर्क टोलको भेडीखर्क चोकमा पाँच परिवारको छ घर र गोठ पहिराले क्षति पुर्याएको थियो । पहिरोबाट विस्थापित मादी–६ का कमलापति बराललाई मादी गाउँपालिकाबाट  ७० हजार र प्रशासनबाट  २५ हजार राहत रकम प्रदान गरियो ।

त्यसैगरी दीपक बराललाई गाउँपालिकाबाट  ५० हजार र प्रशासनबाट  २० हजार, शम्मेर पाण्डेलाई पालिकाबाट  ३० हजार र प्रशासनबाट  १५ हजार, भुवन सिंहलाई पालिकाबाट २० हजार र प्रशानबाट  १५ हजार राहत रकम प्रदान गरिएको छ । पहिरापीडित विष्णुमाया घर्तीका परिवारलाई प्रशासनबाट  १५ हजार र गाउँपालिकाबाट २० हजार र कृष्णप्रसाद देवकोटाका परिवारलाई गाउँपालिकाबाट  १५ हजार प्रशासनबाट  १० हजार राहत रकम प्रदान गरिएको मादी गाउँपालिका–६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले जानकारी दिए ।

पीडित परिवारलाई प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङ, गण्डकी प्रदेशसभा सदस्य बेदबहादुर गुरुङ, गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङ, जिल्ला प्रशासन कार्यालय कास्कीका अधिकृत दीपक रेग्मीलगायतले राहत वितरण गरेको हो । पहिराले पूर्णरूपमा घरमा क्षति पुगेका दीपक र शम्शेर पाण्डेको परिवार हाल आफन्त र समाजघरमा आश्रय लिएका छन् । यी दुवै परिवार विस्थापित भएर आफन्त तथा समाजघरमा आश्रय लिएको वडाध्यक्ष क्षेत्रीले बताए । अबिरल वर्षा तथा पहिराका कारण मादीका विभिन्न स्थानमा क्षति पुगेको बताइन्छ । विशेषगरी ग्रामीण सडकमा पहिराले क्षति गराएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot