काठमाडौं, २४ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार नगरेकाहरुले डराउनुपर्ने कुनै कारण नभएको बताएका छ्न । तर, मुलुकमा भ्रष्टाचार र कुशासन हाबी भएकोले यसको अन्त्यको लागि पहल गर्नुपर्ने उनको भनाई छ ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले आफूहरु समाजवाद निर्माणको लागि अघि बढेको बताए । उनले आफूहरु एकताको लागि सधैं खुल्ला रहेको सुनाए ।
उनले नेताहरुलाई अहंकार त्याग्न पनि सुझाव दिएका छन् । देश र जनतालाई ध्यानमा राखेर अघि बढ्न पनि नेताहरुलाई उनको सुझाव थियो । उनले आफूहरु अहिले असल नेताहरुलाई एक ठाउँमा जुटाउनको लागि सक्रिय भएको सुनाए ।
सो क्रममा पत्रकार धमलाले नेकपा व्युँताउनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि वार्ता होला नि ? भनेर सोधेका थिए । जवाफमा नेपालले भने–‘अहिलेको सन्दर्भमा त्यो छैन, जुन गाउँ जानु छैन, त्यो गाउँको बाटो नै नसोध्नु । तपाईंले ढोका नै बन्द गरिदिनुभयो नि । छोडिदिनुहोस न अहिले । भविष्यका कुरा ।’ यद्धपी उनले आफूहरु एकताको लागि पार्टीहरुसँग खुला रहेको स्पष्ट पारे ।