Logo

कुल आचार्यको अपिल : ‘स्वर्गजस्तो देशमा हामीलाई लगानी गर्ने वातावरण बनाईदिनुहोस’



काठमाडौं, २४ असार । गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले सरकारले लगानीका लागि विदेशमा रहेका नेपालीहरुलाई आह्वान गरेको भएपनि अझै लगानीमैत्री वातावरण बन्न नसकेको बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजना गरिएको लगानीकर्तासँग अन्तरक्रिया कार्यक्रममा विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आचार्यले विगतको तुलनामा सरकारले लगानीका लागि धेरै बाटो खोलेपनि प्रक्रियागत झन्झटका कारण लगानीमैत्री वातावरण बन्न नसकिरहेको जिकिर गरे । उनले भने, ‘सरकारले हाम्रो माग सम्बोधन गरेको छ, तर प्रक्रियागत झन्झट छन् । उदाहरणका लागि सरकारले डलर खाताको व्यवस्था मिलाएको छ तर विदेशबाट पैसा पठाउन खोज्दा नेपाल भन्ने देशै देखाउँदैन । यस्तो अवस्थामा हामीले के गर्न सक्छौँ, त्यस्ता कठिनाईलाई समाधान गर्नु जरुरी छ । हामी यही चाहान्छौँ कि स्वर्ग जस्तो देशमा हामीलाई लगानी गर्ने वातावरण बनाइदिनूस् ।’

अध्यक्ष आचार्यले लामो समयदेखिको गैरआवासीय नेपाली नागरिकताको माग सम्बोधनको लागि नेपाल सरकार र उक्त उपलब्धी हासिल गर्नका लागि भूमिका निर्वाह गरेको उद्योग मन्त्रालय तथा अन्य सरोकारवाला मन्त्रालयप्रति संघको तर्फबाट आभार व्यक्त गरे । ‘यस उपलब्धिलाई हामीले नेपालमा लगानीका लागि बलियो र प्रमुख आधार मानेका छौँ-” उनले भने,”जसले संविधानले परिकल्पना गरेका गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाकालदेखि नै समृद्ध मुलुक निर्माणका लागि लगानी प्रवद्र्धन, पूँजी ज्ञान, प्रविधि र सीप भित्र्याउने लक्ष्य राखेको छ ।’

विदेशमा रहेका नेपालीहरुले विभिन्न व्यापार, व्यवसाय, होटेल, शिक्षा, स्वास्थ्य, हाइड्रो, बैंक तथा वित्तिय लगायतका क्षेत्रमा लगानी गरिरहेको स्मरण गराउँदै उनले आगामी दिनमा पनि नेपालको विकास पूर्वाधारको निर्माणमा अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गैरआवासीय नेपाली संघ र सरकारी संयुक्त लगानीमा सुरु गरिएको एनआरएनए डेभेलप्मेन्ट फण्डका लागि थप सहजीकरण गरिदिन आग्रह गर्दै अध्यक्ष आचार्यले लगानीका लागि विद्यमान कानूनी कठिनाई हटाउन जरुरी रहेको उल्लेख गरे । उनले भने, ‘लगानी भित्र्याउन, प्रवद्र्धन गर्न सरकारले ढोका खोलिसकेको छ, कति खोल्ने क्रममा छ, यस क्रममा हाम्रा केही सुझावहरु पनि सम्बोधन भएका छन्, र अझै केही सम्बोधन गर्न बाँकी छन् । ती विषयहरु पनि समयानुसार सम्बोधन हुने विश्वास लिएको छौँ ।’

कार्यक्रममा उपस्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु कुमार मरासिनीले तल्लो तहमा रहेर भुँईमान्छेको जनजीवन उकासिने गरी गैरआवासीय नेपालीहरुले लगानी ल्याउन सक्नुपर्नेमा जोड दिए । उनले भने, एनआरएनहरुले भुँईमान्छेका लागि लगानी ल्याउन सक्नुपर्छ, ठूला ठूला योजना ल्याएर ठूलै लगानी गर्छु भन्दा अहिले सानैबाट अघि बढ्न सके त्यसले तात्विक अर्थ राख्छ, सानो कुराले ठूलो परिवर्तन ल्याउन सक्छ ।’ कार्यक्रममा स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot