Logo

आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्न सम्झौता



 काठमाडौँ, २४ असार । नेपाल नेत्रज्योति सङ्घ र अष्ट्रेलियाको डाक फाउन्डेसनका बीचमा आपसी सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्र (एमओयु) मा हस्ताक्षर गरिएको छ । उक्त सम्झौतापत्रमा सङ्घका तर्फबाट अध्यक्ष प्रा. डा. चेतराज पन्त र फाउन्डेसनका तर्फबाट संस्थापक डेभ रिकार्डले हस्ताक्षर गरेका हुन् ।
फाउन्डेशनले सन् २०२३ का लागि करिब आठ हजार आँखाका बिरामीको निःशुल्क शल्यक्रियाका लागि सङ्घलाई अनुदान रकम उपलब्ध गराउने छ । सङ्घले  विभिन्न अस्पताल तथा बाह्य कार्यक्रममार्फत आर्थिक अभावका कारण आँखा उपचार सेवाबाट बञ्चित नागरिकको निःशुल्क आँखाको उपचार गर्ने सङ्घका महासचिव भरतबहादुर चन्दले बताए ।
“सङ्घले आर्थिक अभाव र पहुँचका कारण कोही पनि नागरिकले दृष्टिविहीन जीवनयापन गर्न नपरोस् भनेर जनताको घरदैलोमै सहज, सुलभ र सस्तोरुपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको छ । यसका लागि विभिन्न दातृ निकायसँगको सहकार्यमा निःशुल्क शिविर सञ्चालन भइरहेको छ”, उनले भने ।
डाक फाउन्डेसनको सहयोगमा अहिलेसम्म करिब पाँच लाख बिरामीले आँखा परीक्षण गरेका छन् भने ५२ हजार बिरामीको निःशुल्क शल्यक्रिया गरिएको सङ्घका कार्यक्रम व्यवस्थापक रञ्जन शाहले बताए।
सन् २०३० सम्ममा नेपालबाट उपचारपछि निको हुने अन्धोपनालाई निवारण गर्ने नेत्रज्योति सङ्घको योजनामा डाक फाउन्डेसनले महत्वपूर्ण सहयोग पु¥याइरहेको सङ्घका कार्यकारी निर्देशक डा शैलेसकुमार मिश्रले बताए । नेपाल नेत्रज्योति सङ्घले हाल देशभरमा २७ आँखा अस्पताल, एक सय ५४ आँखा उपचार केन्द्र र ४४ जिल्ला शाखामार्फत आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्