मकवानपुर, असार २५ । एसियन हाइवेको सवाल बेलाबेलामा तात्ने र ओझेल पर्ने गरेको छ । मकवानपुरमा दुई सातायता फेरि यसबारे दिनदिनै दबाब सुरु भएको छ ।
गत १० असारमा संघीय सरकारअन्तर्गतको डिभिजन सडक कार्यालय मकवानपुरले राजमार्ग विस्तारबारे ३५ दिने सूचना जारी गरेपछि यो सवाल फेरि तातेको हो । तोकिएको म्याद सकिन अब २१ दिन मात्रै बाँकी छ ।
सर्वोच्च अदालतको आदेशबमोजिम क्षतिपूर्तिको ग्यारेन्टी गर्नुपर्ने, जनता सुकुमबासी नहुने विकल्पको खोजी गर्नुपर्ने, सर्वोच्च अदालतको आदेशबमोजिम जाँचबुझसहित विवरण यकिन गर्नुपर्ने मागसहित बसोबास संरक्षण समिति संघर्षमा छ ।
हेटौंडा बसोबास संरक्षण समितिले जनतालाई सुकुमबासी बनाउन नपाइने भन्दै व्यक्तिगत सम्पत्तिमाथिको मौलिक हक सुनिश्चित गर्न माग गरेको हो । यसबारे हेटौंडा उपमहानगरपालिकाले आफूहरूलाई सहयोग नगरेको भन्दै स्थानीय हेटौंडाका जनप्रतिनिधिविरुद्ध खनिन थालेका छन् ।
आइतबार पनि मकवानपुर उद्योग वाणिज्य संघ, हेटौंडा बसोबास संरक्षण मूल समितिले स्थानीय सरकारविरुद्ध नाराबाजी गरेका छन् । एसियन हाइवे विस्तार गर्ने कार्यको विरोधमा रहेका उनीहरूले हेटौंडा उपमहानगरका प्रमुख, उपप्रमुखविरुद्ध नाराबाजी गरेका हुन् ।
३५ दिने सूचना जारी गरेपछि हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले एक सार्वजनिक कार्यक्रममा भाषणको क्रममा आफू सडक विस्तार गर्न तयार रहेको बताएपछि यहाँका स्थानीय जुर्मुराएका हुन् । उपमहानगर प्रमुख लामालाई भेटेर ध्यानाकर्षण गराउन आएका स्थानीय प्रमुख र उपप्रमुख दुवैले समय नदिएपछि संघर्ष समिति अध्यक्ष कृष्णकुमार गुप्ताले प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंलाई ज्ञापनपत्र बुझाएका थिए ।
प्रमुख लामा र उपप्रमुख राजेश बानियाँ दुवैले आफूहरूलाई नटेरेको भन्दै उनीहरूले प्रमुख र उपप्रमुखविरुद्ध नै नाराबाजी गरेका थिए । राजमार्ग विस्तारको समयमा आफूहरू प्रमुखसँग भिड्न तयार रहेको र यसबाट हुन सक्ने भौतिक क्षतिको जिम्मेवार स्थानीय सरकार हुने चेतावनी उनीहरूले दिएका छन् ।
आइतबारको विरोध ¥यालीका क्रममा बजार परिक्रमा गरी हेटौंडा उपमहानगर पालिका कार्यालय र सडक डिभिजन कार्यालयमा ज्ञापनपत्र बुझाएको हेटौंडा बसोबास संरक्षण मूल समिति संयोजक गुप्ताले बताए ।
मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल अग्रवाल, पूर्वअध्यक्ष अरुणराज सुमार्गी, बाग्मती प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठ, पीडित उद्योगी, घरधनी, व्यवसायी आ–आफ्नो पसल व्यवसाय बन्द गरी विरोध कार्यक्रममा सहभागी भएका थिए ।
चार दशकदेखि विवादको अवस्थामा रहेको राजमार्ग विस्तारको सवाल नगर प्रमुख लामाकै कारण आगोमा घिउ थपेजस्तो भएको हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले बताए । ‘नगर प्रमुख लामा चुपचाप बसेर संघीय सरकारलाई सहयोग गर्नुपथ्र्यो, उनले आफू तयार छु भनेर नबोलेको भए हुन्थ्यो, उनको बोलीपछि यो स्थिति आएको हो,’ वडाध्यक्ष सिग्देलले भने, ‘यो केटाकेटी खेलाई जस्तो भयो, उहाँले अवस्था बुझेर बोल्नुपथ्र्यो ।’
राजमार्ग विस्तार गर्दा हेटौंडा बजारको वडा नम्बर ४ को क्षेत्र बढी पर्छ । राजधानी दैनिकबाट