Logo

नैतिक र राजनीतिक निकास प्रधानमन्त्रीको राजीनामा नै हो : एमाले प्रमुख सचेतक



काठमाडौं, २५ असार । प्रतिनिधिसभामा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सिंहदरबारमा भएको सहमति नयाँ वानेश्वर पुगेर नतोडेको दाबी गरेका छन् ।
‘असार १८ मा गैरजिम्मेवार अभिव्यक्ति दिएको रियलाइज गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलको नेता केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको हो । हामीले सदनभित्र बोल्न चाहनुहुन्छ भने समस्या होइन, संसद् चल्न दिन्छौं भन्यौं । उहाँले पनि मेरो कुरामा संसद् कन्भिन्स भयो भने ठीकै छ, भएन भने तपाईंहरुले जे गर्ने हो, त्यो त छँदै छ भन्नुभयो । तर त्यसमा प्रधानमन्त्री कार्यालयबाट जारी गरेको विज्ञप्तिमा मिटरब्याज पीडितसम्बन्धी अध्यादेश प्रमुख प्रतिपक्षका कारण अघि बढाउन नसकिएको विषय पनि समेट्नुपर्छ भन्दा प्रचण्डजीले उत्तर-दक्षिण वा कसलाई सोध्नुपर्ने बाध्यता आइलाग्यो । म बुझ्दिनँ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भनिन् ।
‘प्रधानमन्त्रीका प्रेस सल्लाहकारले जारी गरेको वक्तव्य नेकपा (माओवादी केन्द्र) को जनसंगठनको जस्तो भएको आरोप पनि गिरीले लगाए । उनले भने, ‘प्रधानमन्त्रीको कार्यालयले पार्टीको जनसंगठनको जस्तो प्रेस नोट मिल्दैन । आम जनतामा भ्रम पार्ने काम गर्न पाइँदैन । अध्यादेश आएको ६० दिनसम्म गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री प्रचण्ड के हेरेर बस्नुभएको थियो ? अहिले पानीमाथिको ओभानो हुने ?’
मिटरब्याज पीडितबारे संसद्भित्र नेकपा एमालेका दर्जनौं सांसदले आवाज उठाएको पनि प्रमुख सचेतक गिरीले बताए । उनले भने, ‘हाम्रै कारण सरकार अध्यादेश ल्याउन बाध्य भयो । मिटरब्याजीका निम्ति अध्यादेश ल्याउनै पर्दैनथ्यो । हामी विधेयक नै फास्टट्रयाकमा पास गरिदिन्थ्यौं । हामी अहिले पनि त्यसका पक्षमा छौं ।’ नेकपा एमाले प्रधानमन्त्रीको राजीनामाको मागबाट युटर्न नभएको पनि उनले बताए । गिरीले भने, ‘अहिलेको नैतिक र राजनीतिक निकास भनेको प्रधानमन्त्रीको राजीनामा नै हो । त्यसपछि संसद्लाई अघि बढाउन हामी सकारात्मक छौं ।’



प्रतिक्रिया दिनुहोस्