Logo

‘दिल्लीले प्रधानमन्त्री बनाउने भए प्रचण्ड गोरखातिर उम्मेदवार बन्न किन गएको ?’



काठमाडौं, २५ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति गलत भएको टिप्पणी गरेका छन् ।
‘प्रधानमन्त्रीले जे कुरा गर्नुभो, त्यो बेठिक कुरा हो । त्यो गलत कुरा हो । त्यस्तो कुरामा पनि सहमत हुन्छ त राजमो ? प्रचण्डलाई पहिलोचोटि केपी ओलीले प्रधानमन्त्री बनाए, अर्कोचोटि हामीले नै बनायौं अनि दिल्लीले बनायो भन्न मिल्छ ? दिल्लीले प्रधानमन्त्री बनाउने भए गोरखातिर उम्मेदवार बन्न किन गएको ? नयाँ वानेश्वर नआईकन टिकट काटेर सीधै दिल्ली जानुपर्थ्र्यो नि,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामालाई सस्तो बनाएको आरोप पनि केसीले लगाए । उनले भने, ‘किन रोइस् मंगले ? आफ्नै ढंगले । अहिले एमाले घाइते छ । उसको पीडा पनि हामीले बुझ्नुपर्छ । कोसी प्रदेशमा एमालेलाई अरु दलले चोट पुर् याएका छन् । ४० जना सांसद भएर पनि सरकार बनाउन नदिने ? प्रचण्डले अहिले राजीनामा दिने हो भने ३१ औं वर्षमा २९ औं प्रधानमन्त्री आउँछ । अरुलाई गठबन्धन भित्रकाले पनि पत्याउनु पर्यो नि । प्रधानमन्त्री पद र राजीनामालाई त्यस्तो सस्तो गराउने ?’
तपाईंले हिजोआज सरकारको आलोचना गर्न छाड्नुभएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा नेता केसीले भने, ‘म बोलिरहेकै छु । हामीले सरकारलाई समर्थन गर् या हो । गुण दोषका आधारमा समर्थन र विरोध हुन्छ । राम्रो काम गर्दा समर्थन हुन्छ । भुटानी शरणार्थीको फाइल खोल्यो, ललिता निवासको अनुसन्धान चलेको छ । फाइनल के हुन्छ, त्यो भन्न सकिँदैन । यो टुंगोमा पुग्नुपर्छ र भ्रष्टाचारी उम्कनु हुँदैन । भ्रष्टाचारीलाई पालेर राख्नुहुँदैन । बालुवाटारको २९९ रोपनी जग्गा नामसारी गरेर हाकाहाकी खाने ? राजधानीभित्र त यस्तो छ भने दूरदराजमा के होला ?’



प्रतिक्रिया दिनुहोस्