काठमाडौं, असार २५ । प्रमुख तीन राजनीतिक दल आइतबार बिहान केही दिनदेखि अवरुद्ध संसद् बैठक सञ्चालन गर्न सहमत भए। प्रधानमन्त्री कार्यालय सिंहदबारमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद् बैठक सुचारु गर्ने समझदारी गरे। तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री दाहालले आफूले प्रितम सिंह र भारतका विषयमा व्यक्त गरेको अभिव्यक्ति नियतवस नभएको बताएका थिए।
प्रधानमन्त्री दाहालले आफूले व्यक्त गरेको उक्त धारणाप्रति आत्माआलोचना गरेका थिए। प्रतिपक्षी एमालेको मागसमेत सम्बोधन हुनेगरी प्रधानमन्त्री दाहालले प्रितम सिंहर भारतका विषयमा दिएको अभिव्यक्तिको घुमाउरो ढंगबाट आत्मालोचना गर्ने र संसद् बैठक सञ्चालन गर्ने समझदारी तीन दलका शीर्ष नेताहरूबीच भएको थियो।
शीर्ष नेताहरूबीच भएको समझदारी अनुसार प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा बोल्ने र त्यसको खाका ओलीलाई देखाउने समझदारीसमेत बनेको स्रोतको दाबी छ। सोहीअनुसार संसद्को पूर्वर्निधारित बैठक केही समय सारियो। तर सत्ता राजनीतिमा कसरी पुग्ने भन्नेमा एक प्रकारको छटपटाहटमा रहेका एमाले अध्यक्ष ओली सिंहदबारमा भएको समझदारीबाट पछि हटे।
संसद् भवन नयाँबानेश्वर पुगेपछि ओलीले प्रधानमन्त्री दाहालका तर्फबाट प्रेस सल्लाहकार गोविन्द आचार्यले यही असरा २१ गते निकालेको विज्ञप्तिका विषयमा कुरा उठाए। ओली सो विज्ञप्तिका बारेमा पनि प्रधानमन्त्री दाहालको धारणा आउनुपर्ने अडान राखे। ओलीले प्रधानमन्त्री दाहाललाई फोन गरेर सो विज्ञप्तिका विषयमा धारणा आउनुपर्ने बताए।
संसद् भवनबाट बाहिरिने क्रममा ओलीले सञ्चारकर्मीसँग प्रधानमन्त्री दाहालले एमालेमाथि लगाएको आरोप फिर्ता लिनुपर्ने धारणा राखे। प्रधानमन्त्रीका सल्लाहकार अचार्यले जारी गरेको सो विज्ञप्तिमा मिटरब्याजसम्बन्धी विधेयक एमालेका कारण अगाडि बढ्न नसकेको, भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा सरकारले चालेका कदमको विरोधमा एमाले उभिएको भन्ने आरोप लगाइएको छ।
ओली पूर्वसहमतिबाट पछि हटेपछि प्रधानमन्त्री दाहालले सभामुख देवराज घिमिरेलाई टेलिफोन गरी सोमबार दिउँसोसम्मका लागि समय मागेको स्रोतको दाबी छ। प्रतिनिधिसभाको अर्को बैठक सोमबार ३ बजे बोलाइएको छ। नागरिक दैनिकबाट