Logo

बागलुङमा ‘सुत्केरी पोषिलो खर्च’



बलेवा, २५ असार । बलेवा जिल्लाका एक हजार ३४ जना सुत्केरीले ‘सुत्केरी पोषिलो खर्च’ पाएका छन् । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा यहाँका स्थानीय तहसँगको समन्वयमा ती महिलालाई ‘सुत्केरी पोषिलो खर्च’ उपलव्ध गराएको हो ।

सुत्केरी आमा पोषिलो खाना कार्यक्रमअन्तर्गत सुत्केरी भएको दिनदेखि ४५ दिनसम्म दैनिक रु दुईका दरले प्रतिमहिला रु नौ हजार सरकारले उपलब्ध गराउँदै आएको छ । आमा र शिशुलाई पोषणको कमी हुन नदिनका लागि विभिन्न कार्यक्रममार्फत सचेतना जगाउने र खर्च उपलब्ध गराउने गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले बताए। स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य संस्थामै सुत्केरी हुनेलाई यो कार्यक्रममा सहभागी गराइएको हो ।

नियमित खोप र स्वास्थ्य परीक्षण गराउन गर्भवतीलाई प्रोत्साहन गर्न पोषण भत्ता कार्यक्रम प्रभावकारी भएको उनको दाबी थियो । गर्भवतीले टिटानस र धनुष्टङ्कार रोगविरुद्धको डिटी खोप लगाउनुपर्छ । खोप लगाएको र नियमित परीक्षण गराउन स्वास्थ्य कार्यालयले प्रोत्साहित गर्ने गरेको छ । स्वस्थ शिशु जन्माउने र मातृ मृत्युदर घटाउने नीतिअनुरुप गर्भवतीलाई पोषण उपलब्ध गराइएको शर्माले बताए ।

हालसम्म चालु आवमा बागलुङभरका एक हजार ३४ सुत्केरी महिलाले “सुत्केरी पोषिलो खर्च’बापत रु ९३ लाख छ हजार पाएका छन् । ‘पोषणसँग सम्बन्धित धेरै काम हामीले गरेका छौँ”,उनले भने, “कुपोषण व्यवस्थापन, पोषण पैरवी, कुपोषित बालबालिकाको खोजीलगायतका कार्यक्रम सञ्चालन गरेका छौँ ।”

कार्यालयले पोषण शिविरमार्फत तीन सय ५० जनाको परीक्षण गरेको थियो । तीमध्ये छ जना शीघ्र कुपोषण र मध्यम कुपोषण ३९ जना पत्ता लागेको शर्माले बताए। उनीहरुको उपचारका लागि धौलागिरि अस्पताल बागलुङ र गण्डकी प्रदेश सरकार मातहतका विभिन्न अस्पतालमा जान भनिएको थियो ।

पाँच वर्षमुनिका बालबालिका कुपोषणको जोखिममा हुने भन्दै जिल्लाका आठ स्थानीय तहमा कार्यालयले पोषण अवस्थाको विषयमा सर्वेक्षणसमेत गरेको थियो । सर्वेक्षणमा दुई सय ८७ बालबालिका सहभागी भएका थिए । उनीहरुमध्ये कुपोषित बालबालिका धेरै भएका दुई स्थानीय तहमा पोषण शिविर सञ्चालन गरेर तीन सय ५० बालबालिकालाई सेवा दिइएको कार्यालयको तथ्याङ्क छ ।रासस



प्रतिक्रिया दिनुहोस्