Logo

लैङ्गिक हिंसाविरुद्ध सचेत हुँदै ग्रामीण महिला



राँझा, २५ असार । मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध बाँकेको ग्रामीण क्षेत्रका महिला सचेत हुन थालेका छन् । आइएनएफ बाँकेले सञ्चालन गरेको ‘मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यका लागि समुदायमा हाम्रो प्रयास’ परियोजनाको सार्वजनिक सुनुवाइमा जिल्लाका ग्रामीण क्षेत्रका महिला लैङ्गिक हिंसा अन्त्यका विषयमा सचेत हुन थालेका पाइएको हो ।

“गरिबी र आर्थिक अभावको फाइदा उठाएर महिलालाई ललाइफकाई प्रलोभनमा पार्ने भएकाले हामी सबै सचेत हुन जरुरी छ”, जानकी गाउँपालिका–६ गनापुरकी अनिता गुप्ताले भनिन्, “आर्थिक रुपमा कमजोर भएका महिला, अभिभावकविहीन बालबालिकालाई दलालले आँखा लगाउन सक्छन् ।” कार्यक्रममा उनले महिलालाई सचेतनासँगै सीपमूलक तालिमको आवश्यकता रहेको बताइन् ।

मानव बेचबिखन तथा घरेलु हिंसाको सुरुवात आर्थिक कमजोरीका कारण हुने भएकाले आर्थिक रुपमा महिलालाई लाभ हुनेगरी स्थानीय सरकार र सामाजिक सङ्घसंस्थाले कार्यक्रम सञ्चालन गर्नुपर्ने गुप्ताको भनाइ थियो ।

जानकी गाउँपालिका–१ जोगागाउँकी सरिता जोशीले मानव बेचविखन र लैङ्गिक हिंसाको बारेमा महिला दिदीबहिनी सचेत हुँदै गए पनि घटना न्यूनीकरण हुन नसकेको बताइन् । “पढेलेखेका, जानेबुझेका महिला नै लैङ्गिक हिंसाको सिकार भइरहनुभएको छ”, उनले भनिन्, लैङ्गिक हिंसालाई घरपरिवारको आन्तरिक मामिला ठान्ने परिपार्टीले बाहिर आउन सकेको
छैन ।”

जानकी गाउँपालिकाको साइगाउँ, खजुराखुद्र्ध र गनापुरमा ३० स्वावलम्बन महिला समूह गठन भएका छन् । ती समूहमा अवद्ध करिब तीन सय महिलाले समाजमा मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध आफू सचेत हुँदै समाजका अन्य महिलालाई पनि सचेत बनाउन लागेका छन् ।

वडा नं ४ हीरापुर निवासी ‘कर्मशील स्वाबलम्वन समूह’की सदस्य बिमला गौतमले समूहमा आवद्ध भएपछि अहिले मानव बेचबिखन हुने कारण, लैङ्गिक तथा घरेलु हिंसालगायत महिलामाथि हुने हुने हिंसाका बारेमा जान्ने अवसर पाएको बताइन् ।

वडा नं ६ गनापुरस्थित माध्यमिक विद्यालय भाटनपूर्वाका प्रधानाध्यापक अयोध्याप्रसाद यादवले मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यका लागि गठन गरिएका समूहका सदस्यले गाउँघरमा सचेतना फैलाउने काम गरिरहनुभएको बताए। किशोरअवस्थाका बालबालिकालाई विद्यालयस्तरमा क्लब बनाएर विद्यालयबाट नै यस विषयमा शिक्षा दिनसके अझ प्रभावकारी हुने उनको भनाइ थियो ।

आइएनएफले यहाँ सञ्चालन गरेको परियोजना प्रभावकारी रहेको वडा नं ६ का वडाध्यक्ष जगदिशप्रसाद हरिजनले बताए । “जानकी गाउँपालिकामा सञ्चालन भएको मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्धको परियोजनाले सर्वसाधारणसम्म जनचेतना जगाउने काम गरेको छ”, उनले भने “आगामी आर्थिक वर्षका लागि मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय सरकारको तर्फबाट पनि समन्वय र सहकार्य गरेर कार्यक्रम प्रभावकारी बनाइने छ ।”

आइएनएफका परियोजनाका संयोजक अभिषेक विकले जानकी गाउँपालिका–१ साईगाउँ, वडा नं ४ खजुराखुद्र्ध र वडा नं ६ गनापुरका टोल बस्तीमा परियोजना सञ्चालन गरिएको जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्