Logo

दमौलीमा ‘सिटिस्क्यान’ सेवा



तनहुँ, २५ असार । तनहुँको सदरमुकाम दमौलीमा आजदेखि सिटिस्क्यान सेवा सुरु गरिएको छ । व्यास नगरपालिका–२ गणेशमान चोकस्थित ‘सिटिस्क्यान एण्ड डाइग्नोष्टिक सेन्टर प्रालि’ ले उक्त सेवा प्रारम्भ गरेको हो ।

जिल्लामै पहिलो पटक निजी स्वास्थ्य सेवा प्रदायक संस्थाको संयुक्त लगानीमा सिटिस्क्यान मेसिन ल्याएर सेवा दिन थालिएको हो । उक्त ‘सिटिस्क्यान एण्ड डाइग्नोष्टिक सेन्टर प्रालि’को व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरे । सो अवसरमा सिटिस्क्यान सेवा सञ्चालन भएसँगै सिटिस्क्यानका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य भएको उनले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, सिटिस्क्यान एण्ड डाइग्नोष्टिक सेन्टर प्रालिका सञ्चालक पूर्णसिंह थापालगायत वक्ताले स्थानीयस्तरमा मेसिन जडान भई सेवा दिन थालेपछि उपचारका लागि खर्च गरेर टाढा जानुपर्ने बाध्यता अन्त्य भएको बताए ।

सिटिस्क्यान सेवा सञ्चालनका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता भएको प्रमाणपत्र प्राप्त भइसकेको सञ्चालक समितिका अध्यक्ष चूडामणि दाहालले जानकारी दिए । जिल्लाका एघार स्वास्थ्यकर्मीको संयुक्त लगानीमा मेसिन खरिद गरी पोखराकोभन्दा सस्तो, सुलभ र गुणस्तरीय सेवा दिने योजना बनाइएको उनले बताए । उनका अनुसार मेसिन  एक करोडमा खरिद गरिएको हो ।

सिटिस्क्यान सेवा सञ्चालन गर्न निजी स्वास्थ्य संस्थाका चूडामणि दाहाल, राजु दाहाल, ताराप्रसाद श्रेष्ठ, डा. सुशील मिश्र, डा. विश्वद्वीप तिमल्सेना, डा. प्रदेश घिमिरे, श्यामकृष्ण श्रेष्ठ, रामचन्द्र अधिकारी, सीमा बराल, पूर्णसिंह थापा, रुविना खानको लगानी रहेको छ ।

सिटिस्क्यानका लागि बिरामीलाई पोखरा, काठमाडौँ र चितवन जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको सञ्चालक राजु दाहालले बताए । एक्स–रे सेवाबाट स्वास्थ्यसम्बन्धी सम्पूर्ण जानकारी नहुने भएकाले सिटिस्क्यान गरेपछि उपचार गर्न थप सहज हुने उनको भनाइ थियो ।

दुर्घटनामा परी घाइते भएकाको टाउकोलगायत शरीरका विभिन्न भागको एक्स–रे गर्नका लागि सिटिस्क्यान उपयुक्त हुने रामचन्द्र अधिकारीले बताए । सिटिस्क्यान दमौलीमा सञ्चालन भएसँगै उपचारका लागि पोखरा, काठमाडौँ, चितवनलगायत सहर धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्