Logo

प्रचण्ड भन्छन्ः धेरै समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन



काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले सरदार प्रितम सिंहको जीवनीमा आधारित भएर लेखिएको पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिका बारेमा संसद्मा स्पष्टीकरण दिएका छन् । उनले उक्त अभिव्यक्ति सो दिन आफूले प्रधानमन्त्री नभर्इ आफ्नो ठूली छोरी (ज्ञानु) को बुवा भएर बोलेको बताए ।

उनले भने, ‘मेरो छोरी ज्ञानुको उपचारका क्रममा भएका कुरा मैले त्यहाँ कुरा गरेको हुँ, नबोलेको भए पनि हुने थियो। म अलि भावुक बनेकै हुँ, तब न प्रचण्ड। त्यसदिन म प्रधानमन्त्री होइन ज्ञानु (छोरी) को बुबा भएर बोलेँ।’

आफूले त्यत्ति बोलको भरमा हिजो क्रान्तिकालमा राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको निम्ति वर्षौंसम्म लडाई लडेको सिद्धियो त भनेर उनले प्श्न गरे ।

‘हिजो क्रान्तिकालमा राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको निम्ति लडाई लडेको वर्षौंसम्म सिद्धियो यसैले ? नाकाबन्दी हुँदा मैले लिएको अडान र गरेको संघर्ष सबै प्रतिपक्ष साथीहरुलाई राम्रोसँग थाहा छ । मेरो त्यही एउटै भावनात्मक अभिव्यक्तिले सबै सिद्धियो त ?’– उनले भने ।

आफूले बोलेको बेलाबेलाका बोलीहरु अदालतसम्म पुगेको स्मरण गराउँदै उनी ती भावहरु षड्यन्त्र गरेर नभनेको उनले बताए ।

‘अदालतसम्म पनि पुगे मेरो बेलाबेलाका बोलीहरु, मलाई त्यसको हेक्का त छ । हृदय छामेर इमानदारिताको साथ भन्ने हो भने प्रचण्डले षड्यन्त्र गरेर भनेको हो त ति भावहरु ? कुन प्रसंगमा के को निम्ति भनेको भनेर हेक्का राख्नुपर्ने हो कि होइन ?’– उनले भने ।

साथै, नेपालमा पनि ६, ९, १० महिना मात्रै प्रधानमन्त्री श्रृंखलाबद्ध अनुभव रहेकाले अहिले पनि धेरै वर्ष प्रधानन्त्री बन्छु भन्ने मनमा नरहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले विश्वमा दस, बाह्र दिनमात्रै प्रधानमन्त्री बनेको इतिहास स्मरण गराउँदै भने, ‘हाम्रो पनि ६, ९, १० महिना मात्रै प्रधानमन्त्री भएको श्रृंखलाबद्ध अनुभव त थियो। धेरै वर्षलाई प्रधानमन्त्री हुन्छु भन्ने त्यतिबेला पनि थिएन, अहिले पनि छैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot