Logo

सशस्त्रका युनिटमा १ साउनदेखि प्लास्टिकजन्य वस्तु निषेधित



काठमाडौं, असार २६ । सशस्त्र प्रहरी बल नेपालले आगामी १ साउनदेखि आफ्ना सम्पूर्ण इकाइमा प्लास्टिकजन्य वस्तु निषेध गर्ने भएको छ । साथै प्लास्टिकजन्य केही वस्तुको प्रयोग क्रमशः कम गर्दैै लग्ने भएको छ । प्लास्टिकजन्य सामानको प्रयोग कम गर्दै लैजाने नीतिअनुरूप सशस्त्र प्रहरीले यो काम अघि बढाएको हो ।

मानवीय क्रियाकलापमा विशेषगरी हरितगृह ग्याँस उत्सर्जन र ‘नन डिग्राडेबल’ प्लास्टिकजन्य वस्तुुको बढ्दो प्रयोग र अव्यवस्थित विसर्जनले गर्दा जलवायु परिवर्तनमा विश्वव्यापी प्रभाव देखापरिरहेको विभिन्न वैज्ञानिक अध्ययन अनुसन्धानले प्रमाणित गरेको तथा मौसम परिवर्तनमा अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि, तापक्रम वृद्धि र हिमनदी, हिमताल तीव्र गतिमा पग्लिँदै गइरहेको सन्दर्भमा यस प्रकारको थालनी गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता एवं सूचना शाखा प्रमुअ डीएसपी शैलेन्द्र थापाका अनुसार, १ साउनबाट सशस्त्र प्रहरी बल नेपालले आफ्ना युनिटमा पोलिथिनका झोलाको प्रयोग, प्लास्टिकबाट निर्मित फूल तथा गमला खरिद, ‘डस्पोजेबल प्लास्टिक’का सामान प्रयोग, मेस, बाथरुम र ट्वाइलेटमा समेत प्लास्टिकका जग, मग, बाल्टी र बाटालगायतका सामान निषेध गर्ने निर्णय गरेको छ ।

यसका साथै सोही मितिबाट रासन स्टोरमा प्लास्टिकको झोला तथा बोरा, कार्यालयमा प्लास्टिकका पानी बोतल, क्यान्टिनमा प्लास्टिकमा प्याक गरिएका सामान बेचबिखन कार्य र फोहोर बाल्ने कार्यसमेत सशस्त्र प्रहरी बल नेपालको युनिटमा क्रमशः कम गर्दै लगिनेछ ।

त्यस्तै, वातावरण संरक्षणका लागि सशस्त्र प्रहरी बल नेपालले खाद्यान्य भण्डारणको लागि प्लास्टिकबाहेक टिन तथा काठको डिब्बा प्रयोग गर्ने, रासन सप्लायर्सलाई बिस्कुट तथा पाउरोटीलगायतका सामान कागजको प्याकेटमा आपूर्ति गर्न अनुरोध गर्न तथा फोहोरको वर्गीकरण गरी डस्टबिनको व्यवस्था मिलाउने र सोहीबमोजिम व्यवस्थापन गर्न स्थानीय तहसँग समन्वय गरी काम गर्ने योजना बनाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

साथै आफ्ना कार्यालयमा पानीका लागि पुनः प्रयोग गर्न सकिने जारको प्रयोग गर्ने, युनिटमा हुने कार्यक्रममा कागज वा पातले बनेका नष्ट गर्न सकिने सामान प्रयोग, मेसमा स्टिल, सिसा वा तामाको जग, मगको प्रयोग गर्ने, मेस, ट्वाइलेट, बाथरुमलगायतमा सिल्भर तथा स्टिलको बाल्टी, बाटाको प्रयोग गरिने भएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्