काठमाडौं, असार २६। हेटौँडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौँडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ ।
डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकी टोलस्थित पुरानो हेटौँडा सबस्टेसनबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिएको प्राधिकरणले जनाएको छ ।
हेटौँडा–भरतपुर खण्ड प्रसारण लाइन सञ्चालनमा आएपछि हेटौँडाबाट भरतपुरतर्फ र भरतपुरबाट हेटौँडातर्फ करिब १७० मेगावाट विद्युत् प्रवाह गराउन सकिन्छ । अहिले रहेको पुरानो १३२ केभी प्रसारण लाइनबाट करिब ९० मेगावाट मात्र विद्युत् प्रवाह हुँदै आएको थियो । हेटौँडा–भरतपुर खण्ड सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा थप विद्युत् प्रवाहका लागि केही सहज हुने भएको छ ।
नेपालभित्रको प्रसारण लाइन सुदृढ तथा विश्वसनीय बनाउन र पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजना सुरु गरिएको हो ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैङ्कको सहुलियतपूर्ण कर्जामा आयोजना सन् २००८ मा सुरु गरिएको थियो । आयोजनालाई हेटौँडा–भरतपुर र भरतपुर–बर्दघाट दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो ।
प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध, जग्गा प्राप्तिमा समस्या, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानमा भएको ढिलाइ, ठेकेदार कम्पनीको कमजोर कार्यसम्पादनलगायतका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । विश्व बैङ्कले आयोजनाबाट २०७८ को कात्तिकबाट हात झिकेपछि सरकार र प्राधिकरणको लगानीमा बाँकी काम अगाडि बढाइएको थियो ।
आयोजना अन्तर्गत चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन खण्डलाई आगामी साउनभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ । गोरखापत्र दैनिकबाट