Logo

एमालेलाई माओवादी सांसदको झटारो— के सामन्त गोयल र प्रितम सिंह एउटै हुन् ?



काठमाडौं, २६ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद लेखनाथ दाहाल (राजन) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिमा भएको गल्ती स्वीकारेको नभई त्यसबाट उत्पन्न भ्रमबारे स्पष्टीकरण गरेको बताएका छन् ।
‘प्रचण्डले गल्ती स्वीकार्नुभएको होइन । उहाँले भावनात्मक विषयमा अभिव्यक्ति दिँदा आशंका, अन्योल र भ्रम परेछ । उहाँले त्यसबारे जे सत्य हो, सदनमार्फत त्यही स्पष्टीकरण दिनुभएको हो । एमालेले भावनात्मक विषयलाई अनावश्यक राजनीतिकरण गर्ने षड्यन्त्र गरेको थियो । त्यो उसको राजनीतिक अपरिपक्वता र असंसदीय चरित्रको पराकाष्ठा हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता दाहालले प्रचण्डले पहिलो पटक प्रधानमन्त्री हुँदा राष्ट्रपतिसँग मतभेद भई आफ्नो निर्णय कार्यान्वयन नहुने अवस्थामा उच्च नैतिकता देखाई  राजीनामा दिएको पनि स्मरण गरे । उनले भने, ‘नैतिकता देखाउनेमा सबैभन्दा अब्बल प्रचण्ड हो । तर यो नैतिक विषय थिएन, भावनात्मक कुरा थियो । यो राजीनामा माग्ने इस्यु नै होइन । प्रचण्ड बाहिर र भित्र एउटै हुनुहुन्छ । यो उहाँको सरलपन हो । तर यसलाई विषयान्तर गरियो ।’
नेकपा एमालेसँग प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्ने नैतिक धरातल नभएको दाहालको जिकिर छ । उनले भने, ‘मेरो सरकार टिकाइदिनुपर् यो भनेर राति १२ बजे रअका प्रमुख सामन्त गोयललाई भेट्नेसँग प्रचण्डको राजीनामा माग्ने नैतिक धरातल छैन । के सामन्त गोयल र प्रितम सिंह एउटै हुन् ? यसमा नैतिक प्रश्न उठाउनु नाटक हो, नौटंकी हो ।’
नेकपा एमालेमा अब क्रान्तिकारी, समाजवादी र व्यवस्थाविरोधीको ध्रुवीकरण हुने दाबी पनि उनले गरे । सांसद दाहालले भने, ‘प्रदेश, स्थानीय तह, स्कुल, सहकारी, उपभोक्ता समिति जहाँसुकै भ्रष्टाचारको फाइल खोल्दा पनि एमाले नै पर्छ । यो तथ्यले देखाइसकेको छ । व्यवस्थाविरोधीको टावर केपी ओली हो, अहिलेको उपलब्धिको नायक प्रचण्ड हो । अब एमाले सबै मुखुण्डा उत्रिन्छन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot