Logo

शेखर कोइरालाले पार्टी नेतृत्वको गलत कुरामा कम्प्रोमाइज गर्नुहुन्न : कांग्रेस सहमहामन्त्री



काठमाडौं, २६ असार । नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले संसदीय दलको नेता परिवर्तन गर्ने सूचना आफूले नपाएको बताएका छन् ।
‘पार्टीका महामन्त्री गगन थापाले संसदीय दलको नेता परिवर्तन गर्ने भन्नुभएको जस्तो लाग्दैन । उहाँको आशय संसदीय दलको नेता केका लागि प्रधानमन्त्री बन्ने भन्ने जवाफ चाहिन्छ भन्ने होला । यसबारे पार्टीमा कहीं छलफल भएको छैन । भएको भए पनि मलाई त्यस्तो सूचना छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
सहमहामन्त्री परियारले भोलिदेखि सुरु हुने पार्टी केन्द्रीय समितिको बैठकमा आम निर्वाचनको समीक्षादेखि लिएर तीन तहका सरकारको भूमिकालगायत समसामयिक विषयमा छलफल हुने बताए । पार्टीलाई चलायमान बनाउनका लागि कोषाध्यक्ष चयन, केन्द्रीय समिति, विभाग र भातृसंगठनले पूर्णता पाउनुपर्ने पनि उनले औंल्याए ।
अहिले पार्टीमा विशेष महाधिवेशनभन्दा पनि नीति अधिवेशनको आवश्यकता रहेको उनले औंल्याए । उनले भने, ‘२०७८ मा पार्टीको नेतृत्व चयन मात्र भयो, नीतिगत छलफल हुन पाएन । त्यसैले भोलिको केन्द्रीय समितिको बैठकबाट नीति अधिवेशनको मिति तोकेर त्यसमा ध्यान केन्द्रित गर्छौं । अन्य कुरा लिएर महाधिवेशनमा जान्छौं ।’
नेपाली कांग्रेसमा बाहिरबाट हेर्दा गुटको झगडा जस्तो देखिए पनि भित्र विचारको लडाइँ रहेको पनि परियारले बताए । साथै उनले पार्टीका नेता शेखर कोइरालाले नेतृत्वको गलत कुरामा ‘कम्प्रोमाइज’ गर्नुहुन्न भन्ने आफूलाई लागेको सुनाए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले विरोधसम्म ठीकै भए पनि यसलाई लिएर राजीनामा नै माग्नु प्रमुख प्रतिपक्षको भूमिका सुहाउँदो विषय नभएको पनि उनको जिकिर छ ।

कांग्रेस सहमहामन्त्री परियारले प्रचण्ड सरकारको निरन्तरताको विकल्प नरहेको पनि स्पष्ट पारे । उनले भने, ‘सरकारको कार्यशैली बारे विभिन्न प्रश्न उठेका छन् । तर तत्काल सरकार फेरबदलमा जानु हुँदैन । आगामी चार वर्ष यही गठबन्धनको सरकार अघि बढ्छ ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot