Logo

विशेष महाधिवेशनको उत्ताउलो कुरा गर्ने साथीहरू मौसमसँगै ठीक हुँदैछन् : कांग्रेस नेता



काठमाडौं, २७ असार । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टी पदाधिकारीका गैरजिम्मेवार अभिव्यक्तिका कारण पार्टीपंक्तिमा निराशा छाएको आरोप लगाएका छन् ।
‘केन्द्रीय कार्यसमितिले २०७८ साउनमै भातृसंगठनलाई पूर्णता दिने भनेको थियो । २०७९ साउनमा पनि त्यही निर्णय गरेको थियो । तर तोकिएको जिम्मेवारी लिने साथीहरुले खोइ त काम गरेको ? कसैलाई आरोप लगाउनका लागि लगाउनुभन्दा यथार्थ धरातलमा रहेर बोल्नुपर्छ । केन्द्रीय समितिको पूर्णता त सभापतिले अनुकूलतामा गर्दै जानुहोला । तर पार्टीलाई नभई नहुने कुरा पनि भएनन् । हाम्रा पार्टी सभापति एकलौटी निर्णय गर्नुहुन्न । देखिने र नदेखिने गरी परामर्श लिनुहुन्छ । परामर्श लिँदा स्वतः ढिलो भयो । यो बाध्यताको उपज हो । पार्टीकै पदाधिकारी रहेका केही साथीहरुका गैरजिम्मेवार अभिव्यक्तिका कारण पार्टीपंक्तिमा निराशा छाएको छ । यो बैठकले उत्साह भर्ने काम गर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
‘शेरबहादुर देउवा सबभन्दा सहनशील नेता’
पार्टी सभापति शेरबहादुर देउवा सहनशील भएकाले मात्र गैरजिम्मेवार अभिव्यक्ति दिने नेताहरुमाथि कारबाही नभएको पनि विश्वकर्माले बताए । उनले भने, ‘कतिपय साथीहरु पार्टीको नेतृत्व तहमा बसेर पनि कांग्रेस सकियो, बरबाद भयो, कांग्रेस कोमामा छ, भनिरहनुभएको छ । पार्टीमा आलोचना सुन्ने धैर्य भएको एक मात्र नेता हो शेरबहादुर देउवा । गिरिजाप्रसाद कोइरालाको पालामा पार्टीलाई नोक्सान हुने उत्ताउलो अभिव्यक्ति दिने नेताहरु २४ घन्टाभित्रै कारबाहीमा पर्थे । शेरबहादुर देउवा सहनशील भएकाले पार्टी एकढिक्का छ । बिना संकोच आलोचना गर्न सक्नुहुन्छ । कुनै पार्टीमा यस्तो हुन्छ ?’
पार्टीलाई विशेष महाधिवेशन भन्दा नीति महाधिवेशनको खाँचो रहेको पनि नेता विश्वकर्माले औंल्याए । उनले थपे, ‘महाधिवेशन भनेको विशेष परिस्थितिमा हुने हो । पार्टीको इतिहासका विभिन्न घटनाक्रमलाई नबुझीकन कतिपय साथीहरुले उत्ताउलो ढंगले बोलिरहनुभएको थियो । अस्ति अस्ति अविरल वर्षाका कारण बाढी आएको थियो र केही साथीहरुले विशेष महाधिवेशन भनिरहनुभएको थियो, अहिले मौसम ठीक हुँदै गयो, साथीहरुले पनि ठीक कुरा गर्दै जानुभएको छ । सर्पले बांगोटिंगो नगरी दूरी पार गर्न सक्दैन । तर बास बस्ने बेला बांगोटिंगो भयो भने दुलोमा पस्न सक्दैन ।’

‘१६७ सदस्यले १० मिनेट बोल्ने हो भने पनि १० दिन लाग्छ’
कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माले विभिन्न कारणले गर्दा कांग्रेस केन्द्रीय कार्यसमितिको नियमित बैठक एक वर्षपछि हुन लागेको बताए । उनले भने, ‘पार्टीको केन्द्रीय कार्यसमितिको बैठक ढिलो भएकोमा वडाध्यक्षदेखि केन्द्रीय सभापतिसम्मलाई चिन्ता लागेको छ । यसबीचमा संघ र प्रदेशको निर्वाचन भयो, लगत्तै गठबन्धन टुट्यो । त्यसलाई ठीक ठाउँमा ल्याउन समय लाग्यो । सरकार बनाउन पनि समय लाग्यो । बैठक राख्न परिस्थिति अनुकूल भएन । बैठक ढिलो भएकाले क्षति पनि भयो । अब पार्टीलाई लयमा फर्काउँछौं ।’
आज सुरु हुने केन्द्रीय समितिको बैठक नयाँ सदस्यता व्यवस्थापन, भातृसंस्था, विभाग, समितिको पूर्णता, नीति महाविधेवशन साथै समसामयिक एजेन्डामा केन्द्रित हुने पनि उनले बताए । विश्वकर्माले भने, ‘बैठकको एजेन्डा तय भइसकेको छ । तर प्रस्ताव फाइनल भइसकेका छैन । संसद पनि सँगै चलेको र केन्द्रीय कार्यसमितिको बैठकलाई अन्तक्र्रियात्मक र विश्लेषणात्मक बनाउनुपर्ने अवस्था छ । १६७ सदस्यले १० मिनेट बोल्ने हो भने पनि १० दिन लाग्छ । उहाँहरुले प्रभावकारी ढंगले कसरी कुरा राख्न सक्नुहुन्छ भनेर अनौपचारिक छलफलका लागि सभापतिले आज बिहान ९ बजे पार्टी पदाधिकारीसँग छलफल राख्नुभएको छ ।’
लोकतन्त्रमा सरकार सधैं आलोचनाको केन्द्रमा रहने भएकाले सरकारका बारेमा आएका आलोचना स्वाभाविक भएको पनि विश्वकर्माले बताए । उनले पार्टी पदाधिकारी आफ्नो कार्यकक्षमा नआउँदा नेता, कार्यकर्ताहरु ट्याक्सी चढेर घरघर धाउनुपर्ने अवस्था आउनु दुःखद भएको पनि औंल्याए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot