Logo

विशेष महाधिवेशनका लागि हस्ताक्षर क्याम्पेन थाल्छौं : अर्जुननरसिंह केसी



काठमाडौं, २७ असार । नेपाली कांग्रेसका पाका नेता एवं सांसद अर्जुननरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले एक वर्षपछि बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठक दिनको पनि विधानले नचिन्ने पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखेको आरोप लगाएका छन् ।
‘एक वर्षमा थुप्रै घटनाक्रम भए । केन्द्रीय कार्यसमितिमा कुनै विषयमा छलफल भएन । केन्द्रीय समिति नबसे पनि कार्यसम्पादन समितिको बैठक राख्न सकिन्थ्यो । आज बस्ने बैठकको एजेन्डा मैले अहिलेसम्म प्राप्त गरेको छैन । आज पनि पूर्व पदाधिकारीका नाममा निम्ता दिने काम भयो । पूर्व र वर्तमान पदाधिकारी बैठकलाई पार्टीको विधानले चिन्दैन । पार्टी विधि, प्रक्रिया र पद्धतिले चल्नुपर्छ, केही गिरोह बसेर पार्टी चलाउन पाइन्न,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता केसीले सभापति देउवा सानो समूहलाई पार्टी भन्ठानिरहेको टिप्पणी गरे । उनले भने, ‘म शेरबहादुरजीलाई निर्वाचित सभापतिको नाताले नेता मान्छु । तर पार्टीभित्र चरम नैराश्यता छ । सभापतिजी यो विषयवस्तुमा वाकीफ हुनुुहुन्छ ? उहाँले वरिपरिको सानो समूहलाई पार्टी भन्ठान्नुभयो । आफू र आफन्तको संरक्षणमा लाग्नुभयो । उहाँको कार्यशैली सुध्रिएन भने पार्टी चल्दैन । मलाई पार्टी सभापतिको मर्यादाको ख्याल छ । तर शेरबहादुरजीका गलत कुरालाई म ठीक हो भन्दिनँ ।’
नेपाली कांग्रेसलाई पुनर्जीवन दिन नीति महाधिवेशनभन्दा विशेष महाधिवेशन आवश्यक भएको केसीले औंल्याए । उनले थपे, ‘नेपाली कांग्रेसप्रति लागेका लान्छना, निराशा र नराकात्मक छविले वाक्कदिक्क भएर नयाँ नयाँ पार्टीहरु उदाएका छन् । अब नीति महाधिवेशन होइन, विशेष महाधिवेशन आवश्यक छ । त्यसमा शेरबहादुर देउवा तयार हुनुभएन भने हामी सिग्नेचर क्याम्पेनमा लाग्न तयार छौं ।’ पार्टीको रुपान्तरणका निम्ति क्रियाशील सदस्यबाट पार्टी सभापतिको चुनाव हुनुपर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot